काठमाडौं — अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुङ्ग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो युद्ध अन्त्य भएको हो । अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल फ्र्यांक म्याककेन्जीले सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा काबुलबाट फर्किएको जानकारी दिनुभयो । उहाँले पत्रकारहरूसँगको कुराकानीमा, ‘म यहाँ अफगानिस्तानबाट हाम्रो घरफिर्ती अभियान र अफगानिस्तानबाट अमेरिकीसहित तेस्रो मुलुक र जोखिममा रहेका अफगानी नागरिकको सैन्य उद्धार सकिएको घोषणा गर्न उपस्थित भएको हुँ ।’

उहाँका अनुसार अमेरिकी सेनाको अन्तिम जहाज सी–१७ काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार दिउँसो ३ बजेर २९ मिनेट जाँदा उडेको थियो । उनले अगाडि भने, ‘यो उडानसँगै धेरै पीडादायी क्षण पनि छन् । हामीले चाहेका सबैलाई ल्याउन सकेनौं ।’ अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार नै एउटा वक्तव्य जारी गर्दै अमेरिकी सेनालाई धन्यवाद दिनुभएको छ । उहाँले तोकिएको समयभित्र सबै फर्किन सफल भएकोे जनाउनुभएको छ । ‘गत १७ दिनमा हाम्रो सेनाले अमेरिकी इतिहासकै ठूलो हवाई उद्धार गरेको छ ।

अमेरिकी नागरिक, हाम्रा सहयोगी मुलुकका नागरिक र अफगानी नागरिक गरी १ लाख २० हजारभन्दा बढीको उद्धार भएको छ । उनीहरूले यो कार्य बेजोड साहस, व्यावसायिकता र संकल्पका साथ गरेका हुन्,’ राष्ट्रपति बाइडेनद्वारा जारी वक्तव्यमा भनिएको छ । उहाँले अफगानिस्तानमा २० वर्ष लामो सैन्य उपस्थिति सकिएको पनि बताउनुभयो । उहाँका अनुसार, ‘अब अफगानिस्तानमा २० वर्षदेखिको हाम्रो सैन्य उपस्थिति सकिएको छ ।’अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले सोमबार अमेरिकाले अफगानिस्तानबाट १ लाख २२ हजारभन्दा बढीको उद्धार गरिएको जानकारी दिनुभएको थियो ।

यससँगै काबुलमा अमेरिकी कूटनीतिज्ञको उपस्थिति शून्य हुन पुगेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार काबुलस्थित अमेरिकी दूतावास तत्कालका लागि सञ्चालनमा आउनेछैन । तर पनि अफगानिस्तानमा रहने अमेरिकी नागरिकप्रति भने सरकार उत्तरदायी र जिम्मेवार रहने मन्त्रालयले जनाएको छ ।