नाम्खा – हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन् । लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाले भन्नुभयो, “जनता सञ्चारमा जोडिने आशामा धेरै समयसम्म रहेका थिए । अब पूरा हुने भएको छ ।” उनका अनुसार गाडको सुविधा नभएको र मानिसले बोक्न नसक्ने भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको हो ।

टावर निर्माणका लागि सोलार सिस्टमका उपकरण सिम्रिक एयरको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो । रासस