अफगानिस्तान छोड्दै अमेरिकी सेना । फाइल तस्वीर
काबुल – औपचारिक रुपमा युद्धको अन्त्य भएको भन्दै आजदेखि युद्ध अमेरिका अफगानिस्तान छाड्ने भएको छ । अफगानिस्तानमा दुई दशक लामो जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको जनाउँदै अमेरिकाले तोकिएको समय सीमा अनुसार नै अगस्ट ३१ का दिन आफ्नो अन्तिम सैनिक टोलीले काबुल छोडेको बताएको छ ।
अमेरिकाले तालिवानको शासन अन्त्य गर्न सन् २००१ देखि अफगानिस्तानमा अमेरिकाले सुरु गरेको सैन्य अभियान सुरु गरेको थियो । तालिवानीहरु पुन दुई दशक पछि अफगानिस्तानको सत्तामा आएका छन् । अगष्ट १५ मा देशको राजधानी काबुललाई नियन्त्रणमा लिंदै आएको तालिवानले सरकार बनाउन भने सकेको छैन । तालिवानले देशलाई बन्धन बनाएपछि त्यहाँका हजारौं नागरिकहरु असुरक्षा महशुस गर्दै अन्यदेश जानका लागि उद्धारको प्रतिक्षामा छन् । विगत दुई हप्तादेखि काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरिराखेको अमेरिकाले उक्ता कार्य समेत अन्त्य भएको जनाएको छ । पछिल्लो दुई हप्तामा अस्तव्यस्त अवस्थामा ठूलो सङ्ख्यामा अमेरिकाले मानिसहरुको उद्धार गरेको थियो । यो क्रममा भएका आक्रमणमा सर्वसाधारणसहित १३ अमेरिकी सैनिकले समेत ज्यान गुमाएका थिए ।
अमेरिकाले आफ्नो इतिहासमा सबैभन्दा लामो युद्ध अन्त्य भएको जनाएको हो । सन् २००१ मा अल कायदाले गरेको आतङ्ककारी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैन्य अभियान सुरु गरेको थियो । उसलाई नेटो अन्तर्गतका सहयोगी राष्ट्रहरुले साथ दिंदै आएका थिए । अमेरिकाले आफ्नो स्वार्थअनुरुप जुन देशमा युद्धको रणनीति अवलम्बन गर्दै आएको छ, आजसम्म ति सबै ठाउँमा पराजय बाहेक उपलब्धी हात पार्न सकेको छैन । यो पटक पनि अफगानिस्तानबाट अमेरिकाले त्यही इतिहासलाई पुनरावृत्ति गर्यो । अफगानिस्ताबाट अमेरिका जसरी बहिर्गमन भयो यो निकै गम्भीर र ‘पराजय’ पूर्ण अवस्था हो । अफगानिस्तानलाई तालिवानले सहजै रुपमा जसरी कब्जा जमाउन सफल भयो त्योसँगै अमेरिकाले आफ्नो अभियान अन्त्य गरेको हो ।
अमेरिकी सैनिक जनरल फ्र्यांक म्याकेन्जीले पछिल्लो दुई हप्तामा अफगानीसहित एक लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको जानकारी दिएका छन् । अमेरिकी सैनिकको फिर्ती प्रक्रियाको नेतृत्व जनरल म्याकेन्जीले गरेका छन् । अमेरिकी सेनाको अन्तिम टोलीले अफगानिस्तान छाडेपछि तालिवानी समर्थकहरुले काबुलमा उत्सव मनाएका छन् । त्यसक्रममा काबुलमा भीषण गोलीहानाहान भएको समाचारमा जनाइएको छ ।
अमेरिकी जनलर म्याकेन्जीले अफगानिस्तानमा अमेरिकी सैन्य अभियानको क्रममा ठूलो मूल्य चुकाउनु परेको बताएका छन् । अफगानिस्तानमा सन् २००१ यता २ हजार ४ सय भन्दा बढी अमेरिकी सेनाले ज्यान गुमाएको उनले बताएका छन् । अमेरिकाका चारजना राष्ट्रपतिले अफगानिस्तानको दुई दशक लामो युद्ध देखे, भोगे । जर्ज डब्लु बुसले सेप्टेम्बर ११ मा भएको आक्रमणपछि सैन्य अभियानको घोषणा गरेका थिए । उनको पालामा अमेरिकाको टुवीन टावरमाथि अलकायदाले हवाइ आक्रमण गरेको थियो । त्यसपछि अमेरिकाले अफगानिस्तानमा अलकायदाका विरुद्ध युद्ध प्रारम्भ गरेको थियो ।
जर्ज डब्लु बुसपछि अमेरिकी सत्ताको नेतृत्वमा आएका बाराक ओबामाले आफ्नो दुवै कार्यकालमा अफगानिस्तान युद्धको क्रममा हिंसाका घटनाहरुको सामना गर्नु पर्यो । उनले अफगानिस्तानमा अमेरिकी सैनिकको सङ्ख्या समेत बढाएका थिए । त्यसपछि सत्तामा आएका डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकलाई फिर्ता ल्याउने वाचा सहित तालिवानी विद्रोहीसँग सम्झौता पनि गरे । तर उनले आफ्नो कार्यकालमा अमेरिकी सैनिक फिर्ता लान सकेनन् । अमेरिकी सेना फिर्ता लाने जिम्मेवारी वर्तमान राष्ट्रपति जो वाइडेनलाई आइप¥यो । यसले जो वाइडेनको राजनीतिमा चुनौती थपिने विश्लेषण पनि गरिन थालिएको छ । अमेरिकाले अब अफगानिस्तानका नयाँ सत्तासँग कस्तो व्यवहार गर्ला त भन्ने तिर विश्व राजनीतिले ध्यान तानेको छ ।