काठमाडौं – न्यादी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा १५ हजारले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म १५ हजार ३ सय ६८ जना आवेदकले ३८ लाख ६२ हजार ४ सय ४८ कित्ताका लागि ३ अर्ब ८६ करोड २४ लाख ४८ हजार रुपैयाँ सङ्कलन भएको छ । कम्पनीले भदौ १ गते मङ्गलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स.का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको हो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा छिटोमा भदौ १५ गते र ढिलोमा भदौ ३० गतेसम्म आवेदन दिनसकिनेछ । आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको सङ्केत गर्दछ ।