काठमाडौं – प्रहरीले लागू पदार्थ कोकिन सहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । करिब ९ करोड मूल्य बराबरको कोकिनसहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।


भारतीय, दक्षिण अफ्रिकी र तान्जानियाका नागरिकलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत् केपटाउनबाट दोहाहुँदै नेपाल प्रवेश गरेकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामालाई २ किलो ९ सय ६६ ग्राम कोकिनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।


विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनलाई कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो । सोही कारोबारमा सम्लग्न भारतीय विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाटै पक्राउ गरेको थियो । प्रहरीका अनुसार विजय सिंह गामासँग कोकिन लिनका लागि आएको भनी बयान दिएको प्रहरीले बताएको छ ।


यस्तै उक्त कारोबारमा सम्लग्न अर्का अभियुक्त तान्जानियाका नागरिक गेरट्रुड लियोनार्ड किमारोलाई पनि भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । अभियुक्तबाट बरामत भएको उक्त लागू औसध कोकिनको मूल्य रु. ९ करोड बराबरको रहेको बताइएको छ । यसमा सम्लग्न व्यक्तिहरुलाई १५ वर्ष कैद र २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । उनीहरु उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुन्धान भइरहेको ब्यूरोले जनाएको छ ।