वासिङटन– अमेरिकाको लुइजिआना राज्य नजिकै आएको ठूलो आँधी र हुरीका कारण यहाँका दशौं हजार नागरिकहरु सुरक्षित स्थान तर्फ गएका छन् । यो आँधी केही दशक पछिको ठूलो आँधी भएको समाचारमा जनाइएको छ । आइडा आँधी नजिकिँदै गएपछि प्रशासनको चेतावनी र सुझाव अनुसार सम्भावित जोखिमको क्षेत्रमा पर्ने लुइजिआनाका बासिन्दाहरु सुरक्षित स्थानमा गएका हुन् । स्थानीय समय अनुसार आइतबार बेलुका आइडा आँधी गल्फ अफ मेक्सिकोमा ‘ल्याण्डफल’ हुने अनुमान छ । आँधीसँगै २ सय २० किलोमिटर प्रतिघण्टाको दरमा हावा चल्ने तथा जोखिमयुक्त छालहरु आउने सम्भावना छ ।

सन् २००५ न्यू अर्लियन्समा गम्भीर क्षति गरेको क्याट्रिना आँधीभन्दा पनि आइडा भयानक हुने पूर्वानुमानकर्ताहरुले बताएका छन् । लुइजिआनाका गर्भनर जोन बेल एड्वाड्र्सले आइडा आँधी राज्यको इतिहासमा १ सय ५० वर्ष यताकै गम्भीर हुन सक्ने चेतावनी दिएका छन् । छिमेकी राज्य मिसिसिपीका गभर्नरले आपतकालीन अवस्था घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले आइडा निकै खतरनाक बन्ने देखिएको र केन्द्र सरकार आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् । गल्फ अफ मेक्सिकोको मौसम गर्मी हुँदै जाँदा आँधी गम्भीर बनेको हो । आइडालाई क्याटगोरी–२ बाट अति खतरनाक क्याटगोरी–४ घोषित गरिएको हो। लुइजिआनाको दक्षिणी क्षेत्रमा नेपाली समय अनुसार बेलुका पौने सात बजेदेखि तीव्र गतिको हावा चल्ने अनुमान छ । सन् २००५ मा न्यू अर्लियन्समा १८ सय जनाभन्दा धेरैको ज्यान जाने गरी आएको क्याट्रिना आँधी क्याटगोरी–३ को थियो ।