पत्र–पत्रिकाबाट

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन भएपछि दुबै पार्टीका अध्यक्षले एकले अर्कालाई छेडछाड गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललगायतका केही नेता कार्यकर्ता पार्टीबाट अलग हुँदैमा एमालेलाई केही फरक नपर्ने बताइरहँदा नवगठित एकीकृत समाजवादी अध्यक्ष नेपाल भने ओलीलाई लोकतन्त्रविरोधी र प्रतिगमनको मतियार भन्न छाडेका छन् । उनीहरुका गतिविधि हेर्दा आरोप प्रत्यारोपको श्रृंखला लामै समयसम्म चल्ने देखिन्छ ।

नेकपा समाजवादीका अध्यक्ष नेपालले शनिबार नै पेशागत महासंघ वागमती प्रदेश कमिटीद्धारा आयोजित ललितपुर जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका थिए उता, एमाले अध्यक्ष ओली पनि ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला संघको घोषणा कार्यक्रममा सहभागी भए । घोषणा कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपालले अर्को पार्टी गठन गर्दैमा एमाले पार्टीको जीवनमा केही फरक नपर्ने बताए । झण्डै २० प्रतिशत सांसद र ५० भन्दा बढी केन्द्रीय सदस्य लिएर अलग पार्टी बनाएका नेपालप्रति इंगित गर्दै उनले पार्टीबाट एक दुई जना जाँदैमा केही फरक नपर्ने भनाइ राखे ।

अझै जोसिएर एक कदम अघि बढ्दै उनले थपे, ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’ पार्टी विभाजनको कारक मानिएका ओलीको थप भनाइ थियो, ‘महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खने । पार्टीका केही साथीहरु प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परे ।’कार्यक्रममा उनले पार्टी विभाजनको कारक नेपाल नै भएको पुष्टि गर्न पनि पर्याप्त समय खर्चिए । आफूले सम्झाउन खोज्दा पनि कुनै वास्ता नगरेको पनि उनले सुनाए ।

‘पार्टीका केही मानिसलाई मैले धेरै सम्झाउन र बुझाउन कोसिस गरेको थिएँ,’ अध्यक्ष ओलीले भने, ‘एमालेलाई ध्वस्त पार्छु भनेपछि त्यस्ता मानिसलाई सम्झाएर र बुझाएर सकिँदैन ।’ कार्यक्रममा उनले आफूविरुद्ध पर्याप्त षडयन्त्र भएको र त्यसको एकमुष्ट जवाफ दिने पनि बताए । उनले एमालेसँग कुनै पनि पार्टीले एक्लाएक्लै प्रतिस्पर्धा गर्नै नसक्ने दाबी दावी समेत गरे । विपक्षी पाँच दलीय गठबन्धनप्रति चर्को आक्रोश व्यक्त गरेका ओलीले एमालेसँग एक्लाएक्लै प्रतिष्पर्धा गर्न नसकेर विपक्षीले मोर्चाबन्दी गरेको बताए । ‘एकरएक दर्जनको १० वटा पार्टी मिल्दा १० दर्जन नै त हुन्छ । १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने ?’ ओलीले भने ।

एमाले अध्यक्ष ओलीले पाँचदलीय गठबन्धनप्रति आक्रोश व्यक्त गरिरहँदा नवगठित एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने । केपी ओलीको नेतृत्वमा दरबारिया शक्तिहरु एकजुट भएको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले देशलाई विभाजन गर्ने शक्तिहरुको सहयोगमा ओलीले संविधान र लोकतन्त्रको विरोध गर्दै दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने काम गरेको बताए । ‘संविधान र लोकतन्त्रको रक्षाका लागि केपी ओलीको असंवैधानिक कदमको हामीले विरोध गर्यौ । लोकतान्त्रिक शक्तिहरु, वामपन्थी शक्तिहरु एकताबद्ध भए’ अध्यक्ष नेपालले भने, ‘केपी ओलीको साथमा दरबारीय शक्तिहरु एकताबद्ध भए, विदेशपरस्त शक्तिहरु एकताबद्ध भए, देशलाई टुक्रयाउँन चाहने शक्तिहरु एकताबद्ध भए, दक्षिणपन्थी, अवसरवादी शक्तिहरु ओलीको पक्षमा एकताबद्ध भए ।’

केपी ओलीले प्रतिगमनको कदमबाट पछि नहट्ने र गरिएको सहमति कार्यान्वयन नगरेको बताउँदै उनले नक्कली सहमतिको जामा पहिर्याउदै आफ्नो टाङ्ग मुनी छिराउने नीति देखिसकेपछि आफूहरुको अगाडि कुनै विकल्प नभएको बताए । अध्यक्ष नेपालले आफूसंगै रहेका तर एकीकृत समाजवादी पार्टी गठन भएपछि साथ छोडेका नेतालाई नवगठित पार्टीमा फर्किन पनि आग्रह गरेका छन् । एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए आफूले नेतृत्व छोडन तयार रहेको घोषणा पनि नेपालले गरेका छन् ।

आफूले पदका लागि कहिल्यै पनि लडाई नगरेको पटक–पटक दोहोर्याउदै नेपालले भने, ‘आउनुहोस्, दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै हटिहाल्छु । अनि, केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु । पदको लडाई होइन यो, विचारको लडाई हो यो । सिद्धान्तको लडाइँ हो यो । मूल्य र मान्यताको लडाइँ हो यो ।’ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी गठन गर्नुपरेको उनको तर्क थियो । कार्यक्रममा उनले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । ‘खाली कुप्रचारबाहेक केही पनि छैन । यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस्,’ नेपालले भने, ‘उनीहरूको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो । मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो । यस्ता प्रवृत्ति भएका मान्छेहरू इमानदार, क्रान्तिकारी कम्युनिस्ट हुन सक्छन् ? यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।