हेटौँडा – नेपाल विद्युत् प्राधिकरणको बागमती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालय अन्तर्गतका छ वटा विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताएको छ । सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन कार्यालयको विद्युत् चुहावट ८ दशमलव ०८ प्रतिशत रहेकामा गत आव २०७७/०७८ मा ७ दशमलव ७२ प्रतिशतमा झरेको छ । उक्त कार्यालयको ६ दशमलव ३७ प्रतिशतमा चुहावट कम गर्ने लक्ष्य रहेता पनि पुरा हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौँडा अन्तर्गत मकवानपुर, चितवन र सिन्धुली गरी तीन जिल्लाका छ वटा विद्युत् वितरण केन्द्र रहेका छन् । हेटौँडा अन्तर्गत हेटौँडा वितरण केन्द्र, पालुङ वितरण केन्द्र र टाँडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र चनौली र सिन्धुली वितरण केन्द्र रहेका छन् ।

चितवनको टाडी विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट १२ दशमलव ७७ प्रतिशतमा झरेको छ । आव ०७६/०७७ मा १६ दशमलव ५३ प्रतिशत रहेकामा गत आवमा चुहावट नियन्त्रणमा आएको बताइएको छ । टाडीको चुहावट १२ दशमलव ५० प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । यसैगरी चितवनको भरतपुर वितरण केन्द्रमा पनि विद्युत् चुहावट दर घटेको छ । गत आव ५ दशमलव ४८ प्रतिशतमा विद्युत् चुहावट झरेको छ ।

सिन्धुलीको चनौली विद्युत् वितरण केन्द्रमा पनि विद्युत् चुहावट कम भएको बताइएको छ । अघिल्लो आव २०७६/०७७ मा १६ दशमलव ३६ प्रतिशत चुहावट रहेकामा गत वर्ष १४ दशमलव ५१ प्रतिशतमा पुगेको छ । त्यहांँको विद्युत् चुहावट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । त्यसैगरी सिन्धुली विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट बढेको तथ्याङ्क पाइएको छ । अघिल्लो आव २०७७/०७८ मा चुहावट बढेर १६ दशमलव ५२ प्रतिशतमा पुगेको छ । सिन्धुली वितरण केन्द्रले गत वर्ष छ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिएकामा १६ दशमलव ५२ प्रतिशत पुगेको छ ।

यसैगरी मकवानपुरको हेटौँडा वितरण केन्द्रमा चुहावट केही बढेको पाइएको छ । गत वर्ष विद्युत् चुहावट ५ दशमलव ११ प्रतिशतमा पुगेको बताइएको छ । त्यस्तै मकवानपुरको उत्तरी क्षेत्रमा रहेका पालुङ वितरण केन्द्रको आव २०७७/०७८ मा विद्युत् चुहावट केही बढेको जनाइएको छ । पालुङ वितरण केन्द्रले विद्युत् चुहावटलाई गत वर्षमा ७ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य लिए पनि आव २०७६/०७७ मा ८ दशमलव ३५ प्रतिशत चुहावट रहेको तर गत आवमा विद्युत् चुहावट २६ दशमलव ५५ प्रतिशत पुगेको बताइएको छ । रासस