काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । सबै प्रदेशका केही–केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशको अधिकांस भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश एक, बागमती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।