काबुल– अफगानिस्ताको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राती नौ बजे गराइएको आत्मघाती बम विष्फोटमा पनि मृत्युहुनेको सङ्ख्या ९० पुगेको छ । उक्त विष्फोटमा परी १३ जना अमेरिकी सैनिकको समेत मृत्यु भएको छ ।

सोहीक्रममा तालिवानले आफ्ना २८ जना सदस्य मारिएको दावी गरेको छ । तालिवानी एक अधिकारीले भने, ‘काबुल विमानस्थलमा अमेरिकनभन्दा धेरै हाम्रा मानिसहरु मारिएका छन्।’ यो हमलापछि पनि उनले अमेरिकी सेनाले ३१ अगष्टपछि अफगानिस्तामा रहनुपर्ने कुनै आवश्यकता नरहेको बताए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार काबुल विमानस्थलमा भएको बम विष्फोटमा हमलामा तालिवानका कम्तिमा पनि २८ सदस्य मारिएका छन् । बिहीबार साँझ काबुल विमानस्थल नजिकै भएका विस्फोटमा परी अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ९० भन्दा बढीको ज्यान गएको पुष्टि भएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो वाइडेनले काबुलमा बम हमला गर्नेहरुलाई माफ नगर्ने र उनीहरुलाई खोजेरै छाड्ने वाचा गरेका छन् । उक्त हमलाको जिम्मा इस्लामिक स्टेटको एक सहयोगी सङ्गठनले लिएको छ ।

अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ बम हमला भएको थियो । उक्त घटनामा बालबालिकाहरुको समेत ज्यान गएको छ । आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका थिए ।