काबुल– सार्क सदस्य राष्ट्र अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । उक्त विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उक्त विस्फोटमा परी १३ जना अमेरिकी नागरिकले समेत ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई नै लक्षित गरी विस्फोट गराइएको बताइएको छ । तालिवानी लडाकुहरुले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिए पछि देश छोड्न चाहने अफगानीहरुको सङ्ख्या ठूलो छ । उनीहरु अमेरिकाले ल्याएको जहाजमा अफगानिस्तान छोड्न लागेका थिए । काबुलस्थित कारजाही अन्तर्राष्ट्रिय विमानस्थल र वरपर अफगानिस्तान छाड्न चाहनेहरुको मानिसहरुको अझैपनि ठूलो भिड छ । यसअघि नै अमेरिका र बेलायतले आतङ्कवादी हमला हुनसक्ने भन्दै चेतावनी जारी गरेका थिए ।

यसैक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा बम विस्फाट गराइ ६० जनाभन्दा धेरैको ज्यान जाने गरी गरिएको हमलाको निन्दा गर्दै त्यस्ता तत्र्वहरुलाई माफ नगर्ने र उनीहरुलाई खोजेरै छाड्ने वाचा गर्नुभएको छ । राष्ट्रपति वाइडेनले ‘हामी आतङ्कवादीहरुसँग डराउने छैनौँ’ भन्दै ‘हामी माफ गर्ने छैनौं । हामीले बिर्सने छैनौँ । हामी तिमीहरुलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ । हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौं’ भन्नुभएको छ ।

अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ दुईवटा बम हमला भएका थिए । उक्त हमलामा परी हालसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको छ । बम हमलामा ठूलो मानवीय क्षति भए पनि अमेरिकाले गरिरहेको हवाई उद्धार कार्य जारी नै रहने राष्ट्रपति वाइडनको भनाइ छ ।

अफगानिस्तान छाड्ने अमेरिकी सैनिकहरुको अगस्टभरिको म्याद सकिँदै गर्दा तीव्र गतिमा चलिरहेको बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी यो विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बिहीबार भएको बम विस्फोटनमा परी बालबालिकाहरुको समेत ज्यान गएको छ । आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका थिए ।