क्रिकेटर सन्दीप : फाइल तस्वीर
काठमाडौं– नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलियाको व्यवसायिक क्रिकेट प्रतियोगिता बिग बास लिग–बिबिएलको आगामी सिजनका लागि पनि आबद्ध भएका छन् । आहोबर्ट हुरिकेन्सले सन्दीपलाई लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो ।
यस अघि सुरुका आफ्ना दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले पछिल्लो सिजन भने हुरिकेन्समा आबद्ध भएका थिए । इण्डियन प्रिमियर लिग–आईपीएलबाट बाहिरिएपछि सन्दीपको व्यावसायिक करियर सङ्कटमा पर्न सक्ने अनुमान गर्न थालिएको थियो । यसबीचमा विभिन्न विदेशी लिगमा आवद्ध भएता पनि सन्दीपले प्रतियोगिताका लागि मैदानमा उत्रन पाएका थिएनन् । सन्दीपले इङ्ल्यान्डका दुई र पाकिस्तानको प्रतियोगितामा कोरोना भाइरसको महामारीका कारण भिसा नपाउँदा खेलबाट बञ्चित हुनुपरेको थियो ।

गत जनवरीमा ‘बिग बास लिग सन् २०२१’ मा सन्दीपले खेलेको एकमात्र व्यवसायिक क्रिकेट प्रतियोगिता हो । त्यतिबेला सन्दीपले हुरिकेन्सका लागि ८ खेल खेलेका थिए । सन्दीप अतितलाई सम्झंदै यसो भन्छन् ‘ हुरिकेन्समा गत सिजन रमाइलो रह्यो। यसपटक पुरा सिजन हुरिकेन्सका लागि खेल्न सक्ने भएकाले उत्साहित छु ।’
सम्झौताहरुका कारण अघिल्ला केही प्रतियोगितामा सन्दीपले एउटा प्रतियोगिता नसकी अरु प्रतियोगिता समेत जानुपर्ने अवस्था थियो । यसैबीच सन्दीपले शुक्रबारदेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग–सीपिएल गुमाउँदैछन् । ट्रिनबागो नाइट राइडर्सका लागि खेल्ने तय भएपनि राष्ट्रिय टोलीबाट खेल्नुपर्ने भएकाले उनले त्यसमा सहभागिता जनाउन सकेनन् । सन्दीपले सिपिएलका पछिल्ला तीन सिजन खेलेका छन् ।
उदयीमा क्रिकेटर २१ वर्षीय सन्दीप हाल राष्ट्रिय टोलीबाट खेल्न ओमानमा पुगेका छन् । हुरिकेन्सले यो सिजनमा आबद्ध गरेका पहिलो विदेशी खेलाडी पनि हुन् सन्दीप । सन् २०१८ मा आईपीएलमा आबद्ध भएपछि सन्दीपले विश्वभरका प्रतिष्ठित प्रतियोगिताहरु खेल्ने अवसार पाएका भाग्यमानी नेपाली खेलाडी पनि हुन् । सन्दीप आईसिसीको टी–ट्वान्टी बलरको विश्व वरियतामा ७७ औं स्थानमा रहेका खेलाडी हुन् ।