माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेपछि प्रदेश १ सरकारको नेतृत्व हेरफेर हुने भएको हो । यसअघि नेपाल समूहमा खुलेका कतिपय नेताहरू अहिले एमालेमै बसेका छन् । नेपाल पक्षमा खुल्दै आएका प्रदेश सांसदहरू भने कता लाग्ने भन्नेमा खुलिसकेका छैनन् । तर, आधा दर्जन सांसद मात्रै नयाँ पार्टीमा लागेको खण्डमा मुख्यमन्त्री शेरधन राईको कुर्सी सङ्कटमा पर्ने पक्का भएको छ ।

सांसदहरूले ‘कित्ता’ क्लियर गर्नुअघि नै एमालेले आफ्नै दलको नेतृत्वमा नयाँ सरकार बनाउने रणनीति बनाएको छ । असन्तुष्ट सांसदहरूलाई माधव नेपालको पार्टीमा जानबाट रोक्न मन्त्रालय दिएरै भए पनि एमालेले सरकार टिकाउने प्रयत्न सुरु गरेको हो । एमालेले आजका लागि संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजेपछि बस्ने बैठकमा कति सांसद उपस्थित हुन्छन्, त्यसले एमाले विभाजनको असरलाई चित्रित गर्नेछ ।

माधव नेपाल पक्षमा खुल्दै आएका सांसदहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएर भए पनि नयाँ पार्टीमा लाग्नबाट रोक्ने र बहुमत सिद्ध गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा एमाले छ । सोही रणनीतिअनुसार आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिने र त्यसमा भीम आचार्यलाई चयन गर्ने तयारी रहेको एमाले स्रोतले बताएको छ ।

बैठकमा राईले दलको नेता पद त्यागेलगत्तै प्रदेश प्रमुखकहाँ गएर मुख्यमन्त्री पदबाट पनि राजीनामा दिने उहाँनिकट स्रोतको भनाइ छ । एकताको पक्षमा उभिएका पार्टी सचिव आचार्यलाई मुख्यमन्त्री बनाउन राईले राजीनामा दिन लागेका हुन् । राईको राजीनामालगत्तै संसदीय दलको बैठकले आचार्यलाई प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा सिफारिस गर्ने तयारी छ ।

एमालेको यस्तो तयारी भएपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी ) ले पनि आफ्नो पक्षमा सांसदहरू तान्ने रणनीति बनाएको छ । प्रदेशसभामा सभामुखसहित एमालेका ५१ सांसद थिए । तीमध्ये कतिजना नयाँ पार्टीमा लाग्छन् भन्ने यकिन हुन बाँकी छ । तर, बुधबार निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका सांसद राजेन्द्र राईले सो पार्टीमा एक दर्जन बढी सांसद रहने दाबी गरेका छन् ।

विभाजनअघिसम्म माधव नेपाल पक्षमा रहँदै आएका दोस्रो पुस्ताका प्रभावशाली नेताहरूले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्किएको भन्दै एमालेमै बस्ने तय गरेपछि सो समूहमा खुल्दै आएका केही सांसदहरू भने नयाँ पार्टीमा नलाग्ने भएका छन् ।