भदौ – सरकारले भोलिदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम बनाएको छ । भदौ ११ गते शुक्रबारदेखि १३ गतेसम्म तीन दिन काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गरिएको हो ।

काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार यस अघि भेरोसेलको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्राको खोप लगाउने कार्यक्रम रहेको छ । प्रमुख खड्काका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा सोभन्दा माथिका उमेर समूहका सबैलाई दोस्रो मात्रा दिइने छ ।

यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् । सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप लगाउन पाउने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौका सबै स्थानीय तहमा १ सय ४६ खोप केन्द्रहरुमा राखिएको छ । यस्तै काठमाडौँ महानगरपालिकामा बस्न सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्र पनि थपिएको उक्त कार्यालयले जनाएको छ । ति थपिएका आठवटा खोप केन्द्रहरुमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, सिभिल अस्पताल, राधास्वामी आइसोलेसन सेन्टर, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल हुन् ।