तस्वीर: बीबीसी

काबुल— तालिवान विद्रोहीले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँका नागरिकहरु विदेश पलायन हुन काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बसिरहेका छन् । देशका राजधानी काबुल लगायत अफगानिस्तानलाई तालिवान विद्रोहीले कब्जामा लिएपछि त्यहाँका नागरिकमा एक खालको सन्त्रास फैलिएकोले अफगानी नागरिकहरु आफुलाई उद्धारको प्रतिक्षामा रहेका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने समयसीमा सकिनलाग्दा विमानस्थलभित्र र बाहिर उद्धारको खोजिमा अझै हजारौं मानिस काबुल विमानस्थलभित्र र बाहिर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अगष्ट ३१ मा अफगानी नागरिकहरुको उद्धारको समय सकिँदैछ ।

अमेरिकी एक सैनिक अधिकारीका अनुसार काबुल विमानस्थलमा १० हजारभन्दा बढी अफगानीहरु उद्धारको खोजी गर्दै प्रतिक्षारत छन् । पछिल्लो २४ घण्टामा १९ हजार मानिसलाई उद्धार गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दाबी गरेको छ । तालिवानले सत्ताकब्जा गरेपछिका १० दिनमा ८२ हजारभन्दा बढी मानिसलाई काबुलबाट उद्धार गरिएको छ ।

तालिवानहरुबाट खतरा रहेकोले त्यहाँका नागरिक डरका कारण अफगानिस्तान छोड्न हतारिहेको छन् । तर, विमानस्थलसम्म पुग्न नसकेका अफगान नागरिकको सङ्ख्या हजारौं रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । तालिवानी लडाकुहरुले देशको राजधानी भित्रिने प्राय सबै नाकाहरु बन्द गरी रोकेको छ । तर विदेशी नागरिकहरुको हकमा पनि नाका खुला गरेको छ ।

यसैबीच, संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतले आफ्ना नागरिलाई काबुल विमानस्थल छोड्न चेतावनी दिएका छन् । सुरक्षा खतरा रहेको कारण देखाउँदै त्यहाँ यात्रा नगर्न आग्रह गरेका हुन् । अमेरिकी विदेश मन्त्रालयले काबुल विमानस्थलमा प्रतिक्षा गरिरहेका आफ्ना नागरिकलाई सावधान गराउँदै उक्त ठाउँ तत्काल छोड्न भनेको हो । बेलायतले अफागानिस्तानको सुरक्षा अवस्था अस्थिर रहेको र आतङककारीले आक्रमण गर्न सक्ने सम्भावना उच्च रहेकोभन्दै सुरक्षित स्थानमा जान र थप सुझावको प्रतीक्षा गर्न आग्रह गरेको छ । बीबीसी/अलजजिरा