काठमाडौं – शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीहरुको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

कोभिड सङ्क्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

उहाँले तीन लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड दिन सकिने बताउँदै विद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने बताउनुभयो । सचिव थपलियाले अहिले भौतिक रूपमै परीक्षा लिने वातावरण बनेको बताउँदै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा परीक्षा सञ्चालन गर्ने बताउनुभयो ।