काठमाडौं – उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । पछिल्लो समय उपत्यकामा कोरोनाभाइरसको सङ्क्रमणदर बढ्दै गएसंगै जारी निषेधाज्ञाको अवधि थप गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने भएको हो ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर सङ्क्रमण अझै घट्न नसकेकाले कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय हुने भएको छ । यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ ।

चाडपर्वको समय भएकाले भीडभाड बढ्ने र त्यसले सङ्क्रमण झनै बढाउने भएकाले निषेधाज्ञा परिमार्जित गरेर थप गरिने भएको छ । परिष्कृत खालको निषेधाज्ञाको मोडालिटी आवश्यक रहेकाले आजको बैठकले के गर्ने भन्ने निर्णय गर्ने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभएको छ ।