फाइल तस्वीर ।
बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा पक्षमा ४२ मत खसेको थियो भने तटस्थमा एक मत परेको थियो । उक्त मत प्रदेशसभाको तत्काल कायम सदस्य संख्याको हिसाबले बहुमत भएकाले मुख्यमन्त्रीद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रदेशसभाको आजको बैठक बहिस्कार गरेको थियो । उपसभामुख कृष्णी थारू सदनमै रहेपनि उहाँले आफ्नो मत कतै व्यक्त गर्नुभएन । उपसभामुख थारु एमालेबाट निर्वाचित हुनुहुन्छ ।


कुल ८७ सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा अहिले ८० जना सदस्य छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका निम्ति ४१ मत आवश्यक रहेको थियो । मुख्यमन्त्री केसीलाई नेपाली काङ्ग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का १८, जनता समाजवादी पार्टी (जसपा) का ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ सांसदले विश्वासको मत दिएका थिए । नेकपा (एमाले) का सांसदले दुई सांसदहरू अजय शाही र विमलाकुमारी वली खत्रीमाथि गरेको कारबाहीअनुसार पदमुक्त नगरून्जेल सदन चल्न नदिने भन्दै एमालेले प्रदेशसभा बैठक बहिस्कार गरेको हो ।