नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

कोरोनाबाट अकालमै मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउँदा केही राहत हुने भएकाले पालिकाले उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो । कोरोनाबाट हालसम्म राप्तीसोनारीमा १३ जनाको मृत्यु भएको छ । बाँकेभरिमा ३ सय २७ जनाको मृत्यु भैसकेको छ ।

बैठकले ऐलानी जग्गाको अभिलेखीकरण गर्न, जोताहलाई परिचय वितरण गर्ने कामका लागि वडा नं. ३ का अध्यक्ष गंगाराम थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । पालिकाले शमशेरगञ्जमा रहेको सर्पदंश उपचार केन्द्रका लागि दुई जना कर्मचारी खटाउने भएको छ ।