काठमाडौं – एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली र असन्तुष्ट समूहका दोस्रो तहका नेताहरुबीच भक्तपुरको बालकोटस्थित ओली निवासमा छलफल भएको छ । एमालेका तात्कालिन वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिंदै आएका असन्तुष्ट समूहका दोस्रो तहका नेताहरु पार्टीको विवाद मिलाएर अगाडि बढ्न अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्न बालकोट पुगेका हुन् ।
माधवकुमार नेपालले एमाले भित्रको विवाद समाधान नहुने निष्कर्ष निकाल्दै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामको पार्टी दर्ता गराएपछि नेपाल पक्षीय भनिएका दोस्रो तहका आफुलाई तेस्रो धार भन्ने नेताहरु एमालेलाई छोड्न नचाहेकै कारण उनीहरुले अन्तिम समयमा आएर नेता नेपालको साथ छोडेका हुन् ।
पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग भेट गर्न जानुअघि उनीहरुले ओलीका विश्वास पात्र शङ्कर पोखरेलसँग छलफल गरेका थिए । आफुलाई एमालेको दोस्रो तहका हस्ती भन्न रुचाउने नेताहरुको निर्णय क्षमता नहुँदा नै एमालेमा धाँजा फाट्न पुगेको हो । दोस्रो तहका नेताहरुले छ महिनासम्मको लामो समयमा आफ्नो क्षमता देखाउन सकेनन् । उनीहरु पार्टीका सामान्य कार्यकर्ताको स्तरभन्दा माथि उठ्न नसक्दा पनि एमाले विभाजन हुन पुग्यो ।
पार्टीको विवाद न सिद्धान्तसँग थियो, न त विचार र कार्यदिशासँग नै ! एमालेसँग जनताको बहुदलीय जनवाद (जवज) बाहेकको कुनै रटान छैन । न त एमालेले जवजलाई नै व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेको छ, नत पार्टीलाई एक ढिक्का बनाएर लग्ने क्षमता नेतृत्वले गर्न सकेको छ । एमाले भित्रको द्वन्द्व पदीय र शक्ति सन्तुलन बाहेक कुनै द्वन्द्व देखिंदैन ।
हिजोसम्म वरिष्ठ नेता खनाल–नेपाललाई साथ दिंदै आएका भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, रघुजी पन्तहरु आज एमाले विवाद समाधान कमिटीको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्नका लागि पार्टी अध्यक्ष ओलीलाई अनुनय विनय गर्न बालकोट पुगेका थिए । तर उनीहरुले पार्टी एकताका निम्ति नभै एमालेमा आफुलाई ‘सेफ ल्याण्डिङ’ सहितको ‘स्पेश’ खोजेका छन् । बाहिर उनीहरुले एमालेलाई ७५ जेठ २ मा फर्काउनुपर्ने र पार्टी विवाद समाधान गर्न १० बुँदे सहमतिलाई अक्षरश तत्काल कार्यान्वयन गर्न अध्यक्षलाई दवाव दिएको बताएता पनि त्यसभित्रको चुरो कुरा भनेको ‘सेफ ल्याण्डिङ’ सहितको ‘स्पेश’ नै हो ।
अध्यक्ष ओलीले एमाले धेरै अगाडि बढिसकेकोले २०७५ जेठ २ अघिको अवस्थामा नफर्कने भनी पटक पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिंदै आएका छन् । जेठ २ मा फर्कने माग गर्नु बेतुकको कुरा हो भन्ने अध्यक्ष ओलीले असन्तुष्ट दोस्रो तहका नेताहरुलाई वक्तव्यबाजीमा नलागेर थपक्क पार्टीमा आएर काम गर्न निर्देशन दिएका छन् । अध्यक्ष ओलीले २०७५ जेठ २ को अवस्थामा एमालेलाई फर्काउन चाहेको भए एमालेका तात्कालीन वरिष्ठ नेता खनाल–नेपालले आफ्नो उर्जाशील जीवन बिताएको पार्टीलाई छोड्नु पर्ने अवस्था पक्कै आउने थिएन ।
हिजो खनाल–नेपाललाई साथ दिएका असन्तुष्ट दोस्रो तहका नेताहरुलाई अध्यक्ष ओलीले ‘२०७५ जेठ २ गते अब आउँछ त ?’ भनी प्रतिप्रश्न गर्दै उनीहरुको आग्रहलाई ठाडै अस्वीकार गरिदिएका छन् । अध्यक्ष ओलीले एमालेमा माधवकुमार नेपालको ‘च्याप्टर’ पनि अब ‘क्लोज’ भएको भन्दै ‘कोही यदि पतन भएर गयो । कोही विपक्षीसँग साँठगाँठ गरेर जनताका विरुद्ध गयो भने निराश भएर बस्ने हैन । एमालेका कार्यकर्ताहरु शोकाकुल भएर बस्दैनन् । उज्जवल भविष्यको महान गन्तव्य हेरेर अघि बढ्छन् । कसैले पार्टी छोडेर गयो भन्दैमा विस्मात मान्न जरुरी छैन’ भनेका छन् । अध्यक्ष ओलीले माधव नेपालको नयाँ पार्टीमा नलागी एकताको रटान लगाएका नेताहरुको माग पूरा गर्न नसकिने जिकिर समेत गरेका छन् ।
पार्टी अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा असार २७ गते भएका १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति गरेर बालकोटबाट ती नेताहरु फर्किएका छन् । अन्तिम समयसम्म माधवकुमार नेपाल समूहमा रहेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । अन्टिमेटमको अन्तिम दिन आज सोमबार एकता पक्षधर नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।
आजको छलफलमा सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने गरी उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई भोली बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा पेश गर्नेगरी एकताको प्रस्ताव बनाउने जिम्मा दिइएको छ । बालकोटमा भएको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय उक्त प्रस्तावमा भर पर्ने बताएका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने भोलिको बैठकमा सबै नेताहरु सहभागी हुने र विवाद समाधान भै पार्टीमा एकता हुने सङ्केत देखिएको बताएका छन् । प्रवक्ता ज्ञवालीका अनुसार भोलि बस्ने स्थायी कमिटीको बैठकले दल दर्ता रोक्दै एकताका लागि आह्वान गरिने बताएका छन् ।
पार्टी भित्रको विवादलाई निराकण गरेर एमालेलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिंदै आएका नेताहरु कुहिराको काग जस्तै बनेका छन् । हिजो खनाल–नेपाल समूहमा रहेका केही नेताहरु माधव नेपालसँग मिल्नुपर्ने पक्षमा छन् भने कोही ओलीसँगै मिलेर जाने देखिएका छन् । ओलीसँग मिलेर जानेमा भीम आचार्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, ठाकुर गैरे लगायतका नेताहरु छन् भने यथास्थितिमा लुरुक्क परेर ओलीसँग जान हुन्न भन्नेमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त लगायतका नेताहरु छन् ।
एमालेको तेस्रो धार भनिएका दोस्रो तहका नेताहरुमा सिद्धान्त, विचार र कार्यदिशा भन्दापनि एमाले शब्द र चुनाव चिन्ह सूर्यमात्रै पृय भएकाले त्यही विराशतको स्वाद लिन उनीहरुले पार्टीमा विद्रोह गर्न सकेका छैनन् । एमाले अध्यक्ष ओलीका सामु उनीहरु निरिह देखिएकाले पार्टीमा विद्रोह गर्नसक्ने अवस्था देखिंदैन ।