काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका कहिले सार्वजनिक गर्ने भन्ने विषयमा अझै अन्योलता छ । बोर्डले परीक्षा मिति तोक्नुपर्नेमा यसबारे अहिलेसम्म पनि औपचारिक छलफल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बीचको आपसी असमझदारीका कारण कक्षा १२ को परीक्षा अन्योलमा रहेको हो ।

गत साउन ३१ गतेबाट सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा कोभिड–१९ को तेस्रो लहर सुरु भयो भन्दै त्रास फैलिएपछि स्थगित भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पुर्न अवलोकन गर्न भनेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो । परीक्षा स्थगित भएता पनि पसल, बजार, यातायात, अफिस तथा रेस्टुराँ सबै खुला नै छन् । त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले भने अझै परीक्षा सञ्चालन गरिरहेका छन् । तर, दुई–दुईपटक रोकिएको कक्षा १२ को परीक्षा गर्न सम्बन्धित सरोकारवाला निकायले ध्यान दिन सकेको छैन् ।

यसबारेमा राष्ट्रिय परीक्षा बोर्डमा बुझ्दा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सीसीएमसी र स्वास्थ्य मन्त्रालयले परीक्षा रोकिदिएकाले परीक्षा गराउन उनीहरुले नै पहल गर्नुपर्ने आशय व्यक्त गर्नुभएको छ । तर, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडा परीक्षा बोर्डले नै रोकेको हुँदा फेरि गर्ने÷नगर्ने विषयमा एकिन निर्णय बोर्डले नै गर्नुपर्ने बताउनुहुन्छ । सीसीएमसीका प्रवक्ता खतिवडा भन्नुहुन्छ, “पुर्नरावललोकन गर्नु भनेको रोक्नू भनेको होइन । यदि बोर्डले सीसीएमसीकै आदेश कुरेर बसेको हो भने हामीलाई कुनै आपत्ति छैन आदेश दिन ।”

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रालयले अब परीक्षा गर्नेबारे छलफल गर्ने र बोर्डले परीक्षा तालिका सार्वजनिक गर्नु अगाडि कम्तिमा दुई साता विद्यार्थीको तयारीका लागि समय दिने बताउनुभएको छ । उहाँका अनुसार,“परीक्षाको मोडालिटीमा छलफल गर्छौँ । खोप दिइसकेको ठाउँमा अहिले गर्ने हो कि सबैले खोप पाएपछि गर्ने ? यी सबै कुरा मध्यनजर गर्दै परीक्षा मिति तोक्छौँ ।”

गत शुक्रबार पनि शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा रोक्नुको औचित्यबारे शिक्षा मन्त्रालय र बोर्डसँग प्रश्न गरेको थियो । सीसीएमसीले परीक्षा पुर्नरावलोकन गर्नु भनेपछि परीक्षा रोक्ने उसको नियतमाथि पनि समितिले प्रश्न उठाएकोे थियो । समितिले परीक्षा केन्द्र र जनशक्ति थपेरै भए पनि परीक्षा छिटो गराउन बोर्डसँग अनुरोध गरेको छ ।