रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित गर्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दल एमालेले चल्न नदिने भएपछि स्थगित भएको हो । एमालेले सूर्य चुनाव चिह्नबाट निर्वाचित सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै लगातार संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले सांसद शाही र वलीलाई पदमुक्त गरिएको सूचना पढेर नसुनाएसम्म आजको बैठक पनि चल्न नदिने एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो । प्रमुख सचेतक ढकालले एमालेको माग पूरा नभएसम्म संसद् अवरुद्ध गर्ने जानकारीसहितको पत्र सभामुखलाई बुझाइएको जानकारी गराउनुभएको छ ।

एमालेले सांसदद्वय शाही र वलीले पार्टी निर्देशन विपरीत विपक्षलाई सघाएको भन्दै १ भदौभरिमा पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको थियो । तर, आइतबार प्रदेशसभा सचिवालयले एमालेलाई जवाफ पठाउँदै सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ । यसअघि नै एमालेकै अवरोधका कारण प्रदेशसभा बैठक गत भदौ ३ मा सूचना जारी गरी भदौ ७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो ।