काठमाडौं – विगत चार महिना अघिदेखि उपत्यकामा हुँदै आएको निषेधाज्ञा पुनःथप हुने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै जाँदा निषेधाज्ञा थपिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा पुनःथपिने जानकारी दिनुभएको छ । उहाँले विविध कारणले सङ्क्रमणदर बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको बताउनुभएको छ । ‘‘पछिल्लो समय विविध कारणले कोरोना सङ्क्रमणदर बढिरहेको छ । मृत्युदर पनि उकालो लाग्दो अवस्थामा छ । यस्तो अवस्थामा निषेधाज्ञा गरिएका क्षेत्रहरु खुलाउने कुरा हुँदैन,” प्रजिअ निरौलाका अनुसार, ‘‘निषेध गरिएका क्षेत्रहरुमा निषेधाज्ञा यथावत नै रहन्छ । अन्य मोडालिटीबारे भने केही छलफल भएको छैन ।”

पछिल्लो साता थप गरिएको निषेधाज्ञा हरेक राति ८ बजे पछि अत्यावश्यक बाहेकका सवारी साधन चल्न नदिने निर्णय भएको थियो । सङ्क्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको छ । प्रजिअ निरौलाका अनुसार अन्य मोडालिटी फेरबदलबारे कुनै निचोडमा पुगेको छैन । प्रजिअ निरौलाले भन्नुभयो, ‘‘आज सरोकारवाला निकायहरुसँग सक्रमणदर र मृत्युदरको समीक्षा गर्दैर्छौँ । त्यसपछि तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रङुख जिल्ला अधिकारीहरुकोे बैठक बस्नेछ । त्यसपछि मात्रै निषेधाज्ञाबारे निर्णय हुनेछ ।” पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि भाद्र ८ गते मङ्गलबार राति १२ बजे सकिंदैछ ।