तस्बिर: रोयटर्स

काबुल— अफगानिस्तानमा बढ्दो तनावसँगै त्यहाँ विपदमा परेका र असुरक्षा महशुस गरेका विदेशी तथा अफगान नागरिकहरुलाई उद्धार गर्न व्यवसायीक विमानहरुले उडान गर्ने अमेरिकाले घोषणा गरेको छ । उद्धारका लागि अमेरिकी सैनिकहरुलाई सहयोग गर्ने जनाइएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाए अनुसार उद्धार अभियानलाई तिव्रता दिनका लागि व्यवसायिक जहाजहरुलाई समेत प्रयोग गर्न लागिएको छ । अगस्ट १५ तारिखदेखि तालिवानी लडाकुहरुले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँका हजारौं अफगानी नागरिकहरुले असुरक्षा महशुुस गरेका कारण देश छोड्न चाहिरएका छन् । काबुलमा रहेको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर देश छोड्न चाहने अफगानी नागरिकहरुको ठूलो भिड लागिरहेको छ । एक हप्ताको बीचमा काबुलबाट २८ हजार नागरिकहरुको उद्धार गरिसकिएको अमेरिकी राष्ट्रपति जो वाइडेनले बताउनु भएको छ ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति वाइडेनले भने, ‘पीडा तथा तपाईँहरुले देखिनु रहनु भएका हृदयविदारक दृश्य बिना त्यहाँबाट यति धेरै मानिसहरुको उद्धारको सम्भावना छैन । हामीले अझै लामो यात्रा गर्नु छ र त्यस क्रममा गल्तिहरु हुन सक्छन् ।’
देश छोड्न चाहने अफगान नागरिकहरु अहिले पनि काबुल विमानस्थल बाहिर ठूलो सङ्ख्यामा रहेका छन् । यसैक्रममा अहिलेसम्म भागदौड तथा गोली लागेर कम्तिमा २० जनाको ज्यान गएको छ । भागदौडकाका क्रममा कुल्चिएर केही मानिसको मृत्यु भएको नेटोका अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएका छन् । एकहप्ता देखिको तुलनामा हिजो आइतबार काबुल विमानस्थल आसपासको क्षेत्रमा केही शान्त देखिएको समाचारमा जनाइएको छ ।

देश छोड्न चाहेन अफगानी नागरिकहरुलाई बेलायतका सशस्त्र बल सम्बन्धी मन्त्री जेम्स हियापीले काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर लामबद्ध भएर बस्न भनेका छन् । बेलायतले अगस्ट १३ यता पाँच हजार ७ सय २५ जनाको उद्धार गरेको बेलायतको रक्षा मन्त्रालयले बताएको छ । काबुलमा अहिले एक हजारभन्दा बढी बेलायतका सुरक्षाकर्मी तैनाथ छन् ।

आइतबार अमेरिकाको रक्षा मन्त्रालयले सिभिल रिजर्भ एअर फिलिट (सिआरएएफ) सक्रिय पार्ने घोषणा गरेको हो । अफगानिस्तानबाट भइरहेको उद्धारलाई थप सक्रिय बनाउनका लागि यसो गरिएको रक्षा मन्त्रालयले जनाएको छ । यसले आपतकालमा व्यवसायिक विमानहरुलाई परिचालन गर्न स्वीकृति प्रदान गर्छ । अमेरिकाले सन् २००३ मा इराकमा सैन्य अभियान सुरु गर्नु पूर्व र अभियानको क्रममा तथा सन् १९९०–९१ को खाडी युद्धको क्रममा यो नियमको प्रयोग गरेको थियो ।

रक्षा मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार देश छोड्न चाहने अफगानी नागरिकहरुको उद्धारका निम्ति अहिले १८ वटा विमानका लागि स्वीकृति प्रदान गरिएको छ । जसमध्ये युनाइटेड एअरलायन्सका चार, अमेरिकन एअरलायन्स, एटलस एअर, डेल्टा एअरलायन्स र ओम्नी एअरका तीन–तीन तथा हवाइयन एअरलायन्सका दुई विमानले उद्धार अभियानलाई सहयोग गर्ने भएका छन् ।