झलनाथ खनाल, पूर्वप्रधानमन्त्री

‘‘आइ.एस.सी.गरेर इञ्जिनियरिङ पढ्ने ठूलो अभिलाषा बोकेर म देशको राजधानी छिरे –२०२३ सालमा । विद्यालय जाँदाको बर्खे भेल र खहरे खोलाबाट पटक पटक जोगिएका झलनाथ आफु इञ्जिनियर भएर देश विकास गर्न चाहनुहुन्थ्यो । इञ्जिनियर बनेर खोलानालामा पुल पुलेसा बनाउने र देश विकास गर्ने सपना बुनेर ठमेलस्थित अमृत साइन्स क्याम्पस पुग्नुभयो आइ.एस.सी. पढ्न । त्यहाँ भर्ना पाइएन, त्यसपछि त्रिचन्द्र कलेजमा पुगें । त्यहाँ पनि विद्यार्थी भर्नाको कोटा सकिएको जानकारी भयो । आफुभन्दा ठूला सिनियरहरुसँग सल्लाह गरें, कसरी भर्ना भएर पढ्ने भनेर । भर्ना हुन नपाएका आफु जस्ता सयौं विद्यार्थीहरुसँग छलफल गरी प्रिन्सिपल फडिन्द्र लोहनीसँग वार्ता गर्ने भनेर टोली बन्यो । जानि नजानी उक्त टोलिको नेतृत्व गर्ने अवसर मिल्यो । वास्तवमा म त्यसपछि विद्यार्थी नेता भएँ । त्यही नेतृत्वकै पृष्ठभूमिले मलाई इञ्जिनियर नभै पार्टी र देशकै नेतृत्व गर्ने अवसर जुरायो । म जन्मने बित्तिकै ‘हजुरबुवाले नाति जन्म्यो, यो त मन्त्री हुन्छ भन्नु भएको थियो रे !’ पछि हजुरबुबाको मुखबाट पनि मैले यो कुरा सुनें । हजुरबुवाको त्यो बचन मेरो जीवनमा सार्थकसिद्ध भयो ।’’


यो उद्धरण हो, नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल–७० को । तत्कालिन समय, इलाम जस्तो दूरदराजबाट उच्चशिक्षा अध्ययन गर्न राजधानी आउनु पर्ने बाध्यता । अहिले जस्तो कहाँ थियो र शिक्षाको पहुँच ! इलामबाट राजधानी आइपुग्न १५ दिन हिड्नुपथ्र्यो । भूपरिवेष्ठित देश नेपाल, विकास कल्पनाभन्दा टाढा थियो, त्यतिबेला । न यातायात न त बाटोघाटो नै । अहिले सुन्दा किम्बदन्ती जस्तो लाग्छ । पहिलो पटक शाही नेपाल वायुसेवा निगमको ट्वीनटर विमान चढेर भद्रपुरबाट १ सय ५० रुपैयाँ भाडा तिरेर देशकै राजधानी उत्रनुभयो । कहिले मोटर गाडी नदेखेको, नचढेको गाउँले केटो, जहाजबाट देशकै राजधानी सहरमा आउँदाको यात्रा रोमाञ्चित त हुने नै भयो । तर, बाबुआमा, दाजुभाइ, दिदीबहिनी ठूलो र रमाइलो परिवारलाई चटक्कै छोडेर हिड्नु पर्दा कम्ता पीडा भएन । ठूलो सङ्घर्ष गर्नुप¥यो बिरानो ठाउँमा । बिरानो ठाउँमा आइपुग्दा कता कता पुगे जस्तो भयो । तर पनि धेरै पढेर इञ्जिनियर बन्ने सपनाको कौतुहलताले कुत्कुत्याएको झलनाथलाई पढाइकै चिन्ता थियो ।


जहानीया राणाशासनको कालरात्री थियो झलनाथ जन्मदा ! वि.सं. २००६ साल चैत ६ गते इलामको साङ्खेजुङ् गा.वि.स.को पण्डित गाउँमा बुबा पुङगनाथ खनाल र आमा मधुमाता खनालको कोखबाट जन्मनु भएका झलनाथका १० जना दाजुभाइ र तीन जना दिदी बहिनी सहितको ठूलो परिवार थियो । सातौं सन्तानको रुपमा मध्यम वर्गीय पण्डित खलकमा जन्मनु भएका झलनाथ परिवारमा सबैको प्यारा हुनुहुन्थ्यो । घरबाट प्रारम्भिक शिक्षा आरम्भ गरेका झलनाथको पढाइ लेखाइको सिकाइ ढुङ्गाको सिलोटमा धुलो माटो हालेर काठको सिन्काले कखरा सुरुभयो । ‘हुने विरुवाको चिल्लो पात’ भने जस्तै शिशु कक्षादेखि ६ कक्षासम्म साङ्खेजुङकै मिडिल स्कुलमा पढेका झलनाथलाई ७÷८ वर्ष पुग्दा नपुग्दै वेद, चण्डी, रुद्री कन्ठस्थ थियो । बाहुनको छोरो भएता पनि कर्म नचल्दासम्म रुद्री पाठ गर्न हुन्न भन्ने प्रचलन थियो त्यतिबेला पनि । झलनाथ भन्नुहुन्छ –‘तर म फलाक्दै हिंड्थें, अनि बा, हजुरबाहरुको गालि खानुपथ्र्यो’ ।


झलनाथका बुबा आमाको चाहना ‘छोराले धेरै पढोस् र देशकै ठूलो मान्छे बनोस्’ भन्ने थियो । जब उहाँ राजनीतितर्फ लाग्नु भयो, तब बुबा आमाको मन त हो, उहाँहरु अलि दुःखित हुनुभयो । निरङ्कुश पञ्चायती व्यवस्था, राजतन्त्रको विरुद्ध ‘चँु’ सम्म पनि गर्न नपाइने, त्यसमाथि कम्युनिष्टको राजनीति, कम्ता सास्ती थिएन त्यो कालरात्रीको भूमिगत जीवन । जो सुकै बुबा आमालाई आफ्नो सन्तान प्रतिको माया केही भैहाल्छ कि भन्ने पिरलो हुनु स्वभाविकै हुन्छ । त्यस्तै हुन्थ्यो बुबा आमालाई पनि । झलनाथ आफ्नो अतितलाई सम्झँदै बुबा आमाले त्यसबेला भन्नुभएका कुरा यसरी व्यक्त गर्नुहुन्छ—‘छोरो जेलमा पर्ने हो कि, अरुलाई जस्तै उसलाई पनि मार्ने हुन्की ! भन्ने ठूलो चिन्ता थियो उहाँहरुमा । मैले धेरै सम्झाएँ, आज जुन खालको अवस्था छ, यो अवस्था रहँदैन, परिवर्तन हुन्छ भन्थें, प्रगतिशील विचार लिएर अगाडि बढेका छौं, एउटा झिल्कोले डँढेलो लगाउन सक्छ, एउटा झिल्को जस्तै हौँ हामी । त्यो झिल्कोले सिङ्गो समाजनै डँढेलो लाग्न सक्छ । सबै समाज भोली रुपान्तरित भएर आउँछ, हेर्दे रहनुस् भन्दै गएँ । अहिले यो एउटा एक्लो बृहस्पति जस्तो लाग्छ, तर त्यस्तो होइन । मैले हिजो बुबा आमासँग भनेको कुरा सिद्ध पनि भयो ।’


कार्लमाक्र्सलाई आफ्नो आदर्श मान्ने झलनाथको राजनीतिक यात्रा २०२४ सालदेखि सुरु भयो । राजनीतिमा दरिलो पाइला टेक्टा नटेक्दै पहिलो पटक बीस वर्षको उमेरमै २०२६ सालमा बाग्लुङ्गमा गिरफ्तारीमा पर्नुभएका झलनाथ आठ महिने बन्दी जीवन व्यतित गरेर निस्कँदा राजनीतिक स्पात बन्दै निस्कनुभयो । पटक पटकको जेल जीवनको अनुभव सङ्गालेका पूर्वप्रधानमन्त्री झलनाथसँग ७ वर्षे जेल जीवनको अनुभव छ । उहाँ राजनीतिमा लाग्दाको अवस्था नेपाली कम्युनिष्ट आन्दोलन निकै क्षत–विक्षतको अवस्थामा थियो, निराशाको स्थितिमा थियो । २०३० सालमा प्राइभेट परीक्षा दिएर स्नातक उत्तीर्ण झलनाथ ‘राजनीतिमा लागेर आफु कहिले निराश भइन’– भन्नुहुन्छ । अब देशमा एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्छ भनेर पहिले कोर्डिनेशन केन्द्र बनाउनु पर्छ भनेर कोर्डिनेशन केन्द्र निमार्ण गर्न लाग्यौं ।’ इन्जिनियर बन्ने सपना बोकेर राजधानी छिरेका झलनाथलाई राजनीति मोहले गाज्यो र नेपाली कम्युनिष्ट आन्दोलनलाई हाँक्न पुग्नुभयो । आजसम्म उहाँको यात्रा बामपन्थी आन्दोलनमा सक्रिय छ ।


सदरमुकाम इलामस्थित पब्लिक आदर्श स्कुलबाट वि.सं. २०२३ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएका झलनाथ उच्चशिक्षा अध्ययनका क्रममा राजधानी आएपछिको कुरा हो । एकदिन त्रिचन्द्र कलेजबाट साथीहरुसँग खाजा खान भोटाहिटी पुग्नु भयो । त्यहाँ एउटा पुस्तक पसलमा चीन सचित्र पत्रिका झुन्ड्याएको देखेपछि यो पत्रिका कहाँ पाइन्छ भन्ने उहाँको मनमा जुन कौतुहलता थियो, त्यसदिन मेटियो भन्नुहुन्छ झलनाथ । उहाँ भन्नुहुन्छ— ‘चीन सचित्र हेर्ने क्रममा मलाई भित्रबाट कसैले बोलायो । त्यतिबेला मलाई बोलाउने मान्छे निरञ्जन गोविन्द बैद्य हुनुहुँदोरहेछ । चीन सचित्र पत्रिकाप्रतिको मेरो आकर्षण देखेर अचम्मित हुँदै कहाँबाट आएका भाइ भनेर सोध्नुभयो । मैले ईलामको साङ्खेजुङ्मात्र के भनेको थिएँ, उहाँले अचम्मित हुँदै क–कसलाई चिन्नुहुन्छ भनेर सोध्नुभयो ।’ हो त्यसबेला निरञ्जन गोविन्द वैद्यको पसल थियो भोटाहिटीमा । उहाँ कम्युनिस्ट नेता हुनुहुन्थ्यो, उहाँको पुस्तक पसलमा अन्य पुस्तकहरुलगायत राजनीतिका विशेषगरी कम्युनिस्ट दर्शन पुस्तकहरु पाइन्थे । ‘राजनीति गर्ने दौरानमा निरञ्जन कुनै बेला साङ्खेजुङ् पुग्नुभएको रहेछ’ झलनाथ भन्नुहुन्छ –‘उहाँले ज्ञानीराम भट्टराईको बारेमा कुरा गर्नुभयो । मैले चिन्छु भनें । ज्ञानीराम भट्टराई भनेको इलाम जिल्लाको कम्युनिस्ट पार्टीको सचिव हो, नेता हो त्यतिबेलाको । उहाँ ज्ञानीरामको घरमा गएर बस्नुभएको रैछ ।’


झलनाथ विगतका कुरा स्मरण गर्दै भन्नुहुन्छ –‘हामी यस्तो विकटका मान्छे हांै भन्ने कुरा उहाँले थाहा पाउनुभो मैले चीन सचित्र पढ्छु भन्ने पनि थाहा भयो । त्यो भएपछि तपाई पढ्नुहुन्छ भने यी किताब लानुहोस् भनेर एकै पटक पैसा नलिइ १५÷२० वटा किताब दिनुभो । मलाई सबभन्दा ‘युवा आन्दोलनको दिशा’ र ‘अन्तरविरोध’ नामक पुस्तकले आकर्षण ग¥यो । मलाई ती किताबहरुको अध्ययनले नै वास्तवमा समाजवाद ठीक चिज रहेछ भन्ने निष्कर्षमा पु¥यायो । समाजवाद भनेको मान्छेको स्वःपरिकल्पनाको कुरा होइन रहेछ । समाजवाद एउटा ऐतिहासिक भौतिकवाद हो भनेर मैले बुझ्दै गएँ । ऐतिहासिक भौतिकवाद बुझ्दै जाँदा समाज पहिले आदिम साम्यवादी समाज पो रहेछ ।’


झलनाथ खनाल राजनीतिज्ञमात्र नभै लेखक पनि हुनुहुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । त्यसोतः उहाँले डेढ दर्जन जति पुस्तक प्रकाशित गर्नुभएको छ भने ३६ वटा युद्धका गीत लेख्नु भएको छ । दुई–तीन वर्षमात्रै उहाँले लेख्नुभएका ८ वटा गीतलाई अशोक राई लगायत सङ्गितकारहरुले सङ्गितवद्ध गरी गीति एल्बम समेत निकाल्नु भएको छ । उहाँले लेखेका गीतहरु नेपाली र अङ्ग्रेजी गरी दुई भाषामा छन् । पहिलो पटक बाग्लुङ्ग जेलमा बस्दा लेखिएका क्रान्तिकारी कविताहरु तत्कालिन राज्यसत्ताले जलाएर नस्ट गरिदियो । पुनर्लेखन गर्न सक्ने कुरै भएन । साहित्य यस्तो विधा हो, जो लेख्नका लागि मुड चाहिन्छ । यसरी हेर्दा झलनाथलाई साहित्य प्रेमी पनि भन्दा अतिशयोक्ति नहोला ।
झलनाथ पार्टीको महासचिव हुँदै अध्यक्ष मात्र बन्नुभएन, देशकै कार्यकारी प्रमुख प्रधामन्त्री जस्तो उच्च ओहदामा पुग्नु भयो । राजनीति गर्ने जो कोहीको पनि मन्त्री, प्रधानमन्त्री बन्ने चाहना हुन्छ । राजनीतिको अन्तिम विन्दु नै प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुनु हो ।

झलनाथले दुवै पदमा बाजी मार्दै पार्टी र सरकारको नेतृत्वसमेत गर्नुभयो । सायद राजनीतिक जीवनको सफलता नै हो, उहाँका लागि । सालिन व्यक्तित्वका धनी झलनाथ ‘म एउटा किसान परिवारमा जन्मिएको, त्यहाँबाट हुर्किदै बढ्दै÷बढ्दै देशको प्रधानमन्त्री भएँ । व्यक्तिगत रुपमा एउटा प्रतिष्ठाको कुरा गर्दाखेरि धेरै कुराहरु प्राप्त भए भन्न सकिन्छ । तर मैले व्यक्तिगत रुपमा भन्दाखेरि त्यस्तो ठूलो कुरा केही पाएजस्तो त मलाई लाग्दैन’—भन्नुहुन्छ ।


झलनाथले तोते बोली बोल्दा नबोल्दै एक शताब्दी लामो जहानीया राणा शासनको अन्त्य भयो । वि.सं. २००७ सालमा प्रजातन्त्र त आयो । तर, त्यसले पनि देशमा शान्ति सुव्यवस्था स्थापित गराउन सकेन । धेरै राजनीतिक बेइमानीहरु भए, त्यसबेला देशमा । वि.सं. २०१५ को पहिलो आम निर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइ बहुमतको सरकार बनायो । वीपी कोइरालाको नेतृत्वमा जननिर्वाचित सरकार त बन्यो, तर दुई वर्ष पुग्दा नपुग्दै राजा महेन्द्रले प्रजातन्त्रको चिरहरण गर्दै एकदलीय निरङ्कुश पञ्चायती व्यवस्था लादे । जुन व्यवस्था वि.सं.२०४६ सालसम्म कायम थियो ।


यसैसन्दर्भमा झलनाथ भन्नुहुन्छ –‘म जतिबेला राजनीतिमा होमिएँ, त्यसबेला देशमा निरङ्कुश पञ्चायती व्यवस्था थियो । हामी त्यसका विरुद्ध सङ्गठित हुँदै गयौं । काङ्ग्रेस र कम्युनिस्ट नमिली देशमा प्रजातन्त्र आउँदैन भन्ने काङ्ग्रेस–कम्युनिस्टको निष्कर्षमा पुग्यौं र २०४६ को जनताको बलिदानीपूर्ण आन्दोलनबाट ३० वर्षे पञ्चायती राजतन्त्रको तानाशाही व्यवस्था बिदाई ग¥यौं ।’


हो, उहाँले भनेजस्तै देशमा नेपाली काङ्ग्रेस र वाममोर्चाको सहकार्यबाट राजतन्त्रको अन्त्यसँगै संवैधानिक राजतन्त्र सहितको बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो । तर पनि देशले गतिलिन सकेन । संवैधानिक राजतन्त्रका महिसाहरुले प्रजातन्त्रमाथि फेरी धावाबोल्न थाले । विस्तारै नेपाली राजनीतिले नयाँ मोड लियो । यसैको पृष्ठभूमिमा २०५२ साल फागुन १ गते देशमा नेपाल कम्युनिस्ट पार्टी माओवादीले जनयुद्ध सुरु ग¥यो । ‘नेपालमा खासगरी ग्रामीण क्षेत्रमा सामन्तवादलाई कमजोर पार्न र त्यसलाई ध्वस्त पार्न जनयुद्धले महत्वपूर्ण निर्वाह ग¥यो’ भन्नुहुन्छ झलनाथ । उहाँ भन्नुहुन्छ –‘सशस्त्र सङ्घर्षबाट मुक्ति सम्भव थिएन, तर पनि सशस्त्र सङ्घर्षमा लागेका साथीहरु पनि १२ बुँदे सहमति गरेर संयुक्त रुपमा राजतन्त्रको विरुद्ध जनआन्दोलन गर्ने निर्णयमा पुग्यौं । ‘एकातिर नेकपा एमाले लगायतका विभिन्न पार्टीले गरेको जनआन्दोलनको एउटा प्रवाह र अर्काेतिर नेकपा माओवादी केन्द्रले चलाएको जनयुद्ध, यो जनयुद्ध र जनआन्दोलन दुइटैको प्रवाहको सम्मिलित प्रयत्नको परिणाम स्वरुप २०६२/०६३ को जनक्रान्तिले २ सय ३८ वर्षे राजतन्त्रको अन्त्यसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यहाँसम्म आइपुग्दा समाजमा जुन प्रकारको परिवर्तनहरु भएका छन्, यी नै उपलब्धीहरुको संरक्षण गर्दै समाजलाई साच्चिनै समृद्ध समाजवाद र साम्यवादतर्फ लाने सङ्कल्प सहितको सङ्घर्ष गरिरहेका छौं ।’


वि.सं.२०२६ सालमा इलाम जिल्ला कमिटी नेकपा गठन गरेको बताउनुहुने झलनाथले इलाम जिल्लाका साथीहरुसँग सम्पर्क बढाउँदै लग्नुभयो । २०३२ साल जेठ २५ र २६ गते दुई दिन विराटनगरको तिनटोलीयामा सम्मेलन गरेर सि.पी मैनाली, माधवकुमार नेपाल, प्रकाश यादव, गोविन्द न्यौपाने, मुकुन्द न्यौपाने, अमृत बोहोरा, मणिलाल राई र म सहित आठजना मिलेर अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोर्डिनेशन कमिटी गठन गर्नुभयो । त्यसको मुख्य उद्देश्य भनेको देशमा विभाजित भएको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्य थियो । यसैसन्दर्भमा झलनाथ भन्नुहुन्छ– ‘कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने दौरानमा हामीले मुक्तिमोर्चा, दाङको सन्देश समूह र पूर्वको लालझण्डा नामक कम्युनिस्ट घटकहरुलाई एकताबद्ध ग¥यौं । यसरी विभिन्न कम्युनिस्ट समूहहरु एकताबद्ध गर्दै गएपछि २०३५ सालको पुषमा गएर हामीले नेकपा माले जन्मायौं । २०३९ सालमा पुगेपछि केन्द्रीय कमिटीले मलाई पार्टीको महासचिव बनायो र मैले २०४६ साल भदौ २६ गतेसम्म पार्टीलाई अगुवाई गरें । त्यो कालखण्डमा असाध्यै धेरै वैचारिक, राजनीतिक र सैद्धान्तिक विवादहरु उत्पन्न भएका थिए । सम्पूर्ण विवादहरुलाई मेरो नेतृत्वमा पार्टीले हल ग¥यो । पार्टीको कार्यदिशा नीति र सिद्धान्तहरु समृद्ध हुँदै गए । हामीले २०४६ सालमा पार्टीको ऐतिहासिक चांैथो महाधिवेशन ग¥यौं, महाधिवेशन सम्पन्न गरेपछि मैले कमरेड मदन भण्डारीलाई महासचिवमा प्रस्ताव गरेर म पुनः त्यो सदस्य मात्र रहें ।’


भूमिगत जीवनकै दौरानमा ३३ वर्षको हुँदा पण्डित कुलका छोरा झलनाथले २०३९ सालमा काठमाडौं जिल्ला कमिटीकी सदस्य रविलक्ष्मी चित्रकारसँग अन्तरजातीय लगन गाँठो कस्नुभयो । केही समयको प्रेमपछि झलनाथ र रविलक्ष्मीको प्रेम वैवाहिक जीवनमा रुपान्तरण हुनपुग्यो । उहाँले भूमिगत कालमै जनवादी विवाह गर्नुभयो । एकमात्र सन्तान ‘निर्भिक’ का पिता झलनाथ ‘प्रेम’ लाई ‘जीवन चक्र’ हो भन्नुहुन्छ । उहाँको बुझाइमा ‘प्रेम विनाको जीवन निरस, सुन्य र अधुरो हुन्छ । समाज विकासको निम्ति प्रेम अनिवार्य छ । वास्तवमा प्रेम एउटा अनिवार्य चिज हो । यसलाई स्वस्थ रुपले अगाडि लाने वातावरण निर्माण गर्नुपर्छ ।’


चौंथो महाधिवेशनबाट पार्टीको नेतृत्व जननेता मदन भण्डारीको काँधमा बिसाउनु भएका झलनाथ भूमिगत जीवनबाट खुला राजनीतिमा आएपछि बुटलवलमा सम्पन्न पार्टीको सातौं महाधिवेशनबाट पुनःपार्टीको नेतृत्व गर्दै नेकपा एमालेको अध्यक्ष बन्नुभयो । ‘देशलाई एउटा समृद्ध समाजमा रुपान्तरण गर्ने र लोकतन्त्रलाई सु–व्यवस्थित गर्ने महत्वपूर्ण अभिभारा हाम्रो काँधमा नभै अब नयाँ पुस्ताको काँधमा छ’–भन्नुहुने झलनाथ खनाल ‘नेपाल सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र राष्ट्र भएकाले देशको राष्ट्रिय अखण्डता, स्वाधिनताको संरक्षण र सम्वद्र्धन गर्दै हाम्रा छिमेकी र अन्य मित्रराष्ट्रहरुसँग सन्तुलित र सुमधुर सम्बन्ध विस्तारमा जोड दिंदै नेपाललाई नेपाली शैली र पद्धती अनुसार आधुनिकीकरण र समृद्धिकरण गर्दै समाजवाद र साम्यवादतर्फ अगाडि बढ्नुपर्छ । हाम्रो लोकतन्त्र अहिले पनि कलिलो छ, यो लोकतन्त्रलाई अझ व्यवस्थित, परिष्कृत, परिमार्जित र व्यापक बनाएर लानुपर्ने र लोकतन्त्रको सत्तानुभूति जनतालाई दिलाउनुपर्छ’–भन्नुहुन्छ ।


देशमा धेरै आन्दोलनहरु भए, राजनीतिक परिवर्तनहरु भए । तर देशको राष्ट्रियता कमजोर बन्दै गएको र विदेशी हस्तक्षेप बढ्दै गएको भन्ने सर्वत्र आलोचना भैरहेको छ । अब देशको अस्मिता जोगाउनुपर्ने बेला आएको भन्दै ‘देशको राष्ट्रियतालाई सुदृढ बनाउन देशको सीमानालाई अङ्कित गर्ने काम अझै बाँकी छ । राष्ट्रियताको क्षेत्रमा गर्नुपर्ने धेरै कामहरु छन् । देशको राष्ट्रियतालाई अझ सुदृढ गर्नु पर्ने’ निष्कर्षमा पुग्नु भएका झलनाथ ‘देशमा गरिबी, बेरोजगारी, निरक्षरताको अन्त्य गर्दै हामीले सामाजिक आर्थिक रुपान्तरणको कामलाई तीव्रता प्रदान गर्ने, राष्ट्रव्यापी रुपमा कृषिलाई आधुनिकीरण, औद्योगिकीकरण, जलविद्युतको विकास, पर्यटनको विकास गर्ने पूर्वाधारहरु व्यापक रुपले निर्माण गरेर देशलाई आधुनिक मुलुकको रुपमा रुपान्तरण गर्नुपर्छ । त्यसो गरेमा मात्र हामी समृद्धि हाँसिल गर्नसक्छौं’– भन्नुहुन्छ ।


देश अन्योल र अस्थिरताको जञ्जिरमा जकडिएको छ । तर देशमा सुशासन छैन । देशमा सुशासन कायम गर्नका निम्ति कानुनी राज्य र विधिको शासन स्थापित गर्ने कुरामा जोड दिंदै उहाँ भन्नुहुन्छ –‘माथिदेखि तलसम्म ‘रुल अफ ल’ स्थापित गर्ने काममा लाग्नुपर्छ । सबै जनतालाई जीवन पद्धतिको रुपमा ‘रुल अफ ल’ लाई हामीले स्थापित गर्न सक्नुपर्छ ।’


बुवाआमाले मलाई जन्म दिनुभयो, कतिपय कलाहरु सिकाउनुभो, भाषा सिकाउनुभयो र मलाई पढ्न इत्यादि गर्नको लागि प्रेरित गर्नुभयो, यी कामको लागि । मेरो अहिलेको जीवन निर्माण गर्ने सन्दर्भमा उहाँहरुको त्यस्ता प्राथमिक र प्रारम्भिक कुराहरुले अत्यन्तै महत्वपूर्ण योगदान दियो । बुवाआमाले मलाई एउटा अवसर सिर्जना गरिदिनुभयो । मैले त्यो अवसरलाई उपयोग गरेर माक्र्सवादलाई पढ्न पाँए, यो दुनियाँलाई मैले पढ्न पाँए । त्यो बेग्लै अवसरको कुरा हो । त्यसकारण जीवन भनेको एउटा अवसर पनि हो । यस्तो जीवन धेरै महत्वपूर्ण छ, धेरै गहन छ । त्यसलाई सदुपयोग गर्नसक्नु पर्दछ । किनभने यो ठूलो अवसर हो । हामीले केही गर्नको निम्ति समाजको निम्ति केही गर्नुपर्छ । राष्ट्रको निम्ति केही गर्नुपर्छ । मानव समाजका निम्ति केही गर्नुपर्छ । अहिले यो नयाँ युगका बहादुर र उदाउँदो सूर्यजस्तो युवाहरुको काँधमा ऐतिहासिक कर्तव्यलाई बुझेर राष्ट्र निर्माण गर्ने काममा युवाहरुको हातमा सबभन्दा ठूलो कार्यभार रहेको छ । देशको उज्ज्वल भविष्य हाम्रा सामु छ । बाटो बाङ्गो–टिङ्गो त होला, बाधा बिध्नहरु होलान, तर उज्यालो भविष्य समाजवादको भविष्य, समृद्ध नेपालको भविष्य र सुखी नेपालीको भविष्य तमाम युवाहरुको काँधमा छ । 