राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई सादा पोसाकमा खटिने प्रहरीले नै लागु औषध राखेर फसाएको आरोप लागेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाहलाई प्रहरीले नै फसाएको पत्रकार महासङ्घ रौतहट शाखाले जानकारी दिएको हो ।

पत्रकार महासङ्घ रौतहटले जनाए अनुसार, साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रीन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो । मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्रोभेट प्रहरीले ‘प्लटिङ’ गरेको पत्रकार महासङ्घको दाबी छ ।

महासङ्घले एक विज्ञप्ती निकालेर असई उदय यादव नेतृत्वको टोलीले अरु दुईजना युवालाई प्रयोग गरेर सो लागु औषध मोटरसाइकलमा राख्न लगाएको फुटेजबाट देखिएको पत्रकार महासङ्घ रौतहटले जनाएको छ । पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाब जिल्ला प्रहरी कार्यालय रौतहटको थुनामा छन् । सोमबारसम्म उनीहरुलाई रिहा नगरे कडा आन्दोलनमा उत्रने पत्रकार महासङ्घको चेतावनी छ । घटनाबारे अनुसन्धान भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय रौतहटले दुई दिनमा सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ ।