काठमाडौं – प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले गत निर्वाचनमा माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चने बताउनुभएको छ । पार्टी विभाजनपछि हिजो नेकपा एकीकृत समाजवादी पार्टीको युवा सङ्गठन धादिङको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता पाण्डेले माओवादीसँग एकतापछि मात्रै एमाले अहिलेको अवस्थामा पुगेको बताउनुभएको हो ।

‘माओवादीसँग एकता भएर नेकपा नबनेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो ।’ उहाँले भन्नुभयो, ‘माओवादीसँगको एकतापश्चात मात्र प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकसहित १२१ सिट जित्न सफल भएका हौं ।‘ नेता पाण्डेले भन्नुभयो, ‘पार्टी एकताबाट नै थप शक्तिशाली बनेको तथ्य ओलीले कहिल्यै महसुस गरेनन् ।’

एउटा गुटको मात्रै नेतृत्व गरेर मनोगत ढङ्गले पार्टी चलाउँदा नेपालमा कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पुगेको उहाँको तर्क थियो । नेता पाण्डेले एमाले अध्यक्ष ओली नेपाली कम्युनिस्ट आन्दोलन नै सिध्याउने अभियानमा लागेपछि बाध्य भएर नयाँ पार्टी जन्माउनु परेको तर्क प्रस्तुत गर्नुभएको छ ।