साङ्केतिक तस्वीर

कञ्चनपुर – चार किलो लागुऔषध चरेससहित कृष्णपुर नगरपालिका–२ प्रगती टोलबाट प्रहरीले आज साँझ तीन जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले चार किलो ४ सय ९० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार चरेससहित पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका–२ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङ छबीस पाथिभरा गाउँपालिका–५ का ३२ वर्षीय झलक जाग्री रहेका छन् । पक्राउ परेकाहरूको शरीर खानतलासी गर्दा लुकाइराखेको अवस्थामा चरेस फेला परेको उहाँले बताउनुभयो । पक्राउ परेकामाथि अनुसन्धान कार्य भइरहेको छ ।