काठमाडौं – देशको कुल जनसंख्याभन्दा बढी निक्षेप खाता बैंक तथा वित्तीय संस्थामा भएको पाइएको छ । करिब ३ करोड जनसंख्यामा निक्षेप खाताको संख्या ३ करोड ६३ लाख पुगेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । तर, ३३ प्रतिशत जनताको खाता नभएको, वित्तीय पहुँच नपुगेको र खाता भएकामध्ये पनि ३३ प्रतिशत निष्क्रिय रहेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रवर्द्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्नेलगायतका नीतिगत व्यवस्थाले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा पु¥याउने नागरिकको संख्या क्रमशः घट्दै गएको जनाएको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त क’, ख’ र ग’ वर्गका संस्थाको शाखा संख्या २०७७ चैत मसान्तमा ५ हजार ९ सय ७८ पुगेको छ । ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८ सय ४५ रहेको छ ।

२०७७ जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४ सय ३६ निक्षेप खाता रहेका छन् । तीन पुस्ते विवरणका आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्त सम्ममा ६७ दशमलव ३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६० दशमलव ९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३ दशमलव ४८ प्रतिशत पुगेको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा १८ लाख २ हजार र कर्णाली प्रदेशमा सबैभन्दा कम ४ लाख ५८ खाता रहेका छन् ।

कुल निक्षेप खातामध्ये ६७ दशमलव ७ प्रतिशत खाता सक्रिय रहेका छन् । पुरुषको खाता संख्यामध्ये ६५ दशमलव २ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२ दशमलव ३ प्रतिशत खाता सक्रिय रहेका छन् । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २० दशमलव ३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ दशमलव ०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३ दशमलव ८६ प्रतिशत रहेका छन् ।