काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ०२–०१२ प ७०६६ नम्बरको कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गङ्गबुबाट पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका–२, बोदल घर भई हाल दक्षिणढोका काठमाडौं बस्दै आएका २२ वर्षीय तेज थापा मगर रहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश३–०२– ०१० प ९४४६ खुल्न आएको छ । पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त, नयाँबानेश्वर पठाइएको महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले जानकारी दिनुभयो ।

उक्त नम्बरको मोटरसाईकल १० दिन अगाडीमात्र काठमाडांै, पेप्सीकोलाबाट हराएकोले खोजतलास गरी पाउँ भनी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका –३ घर भई हाल काठमाडौं मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा निवेदन दिनुभएको थियो ।