काठमाडौं – सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । कोशी ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरू सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हाम फालेका उनीहरूलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । – रासस