काठमाडौं – सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी झाले रेल सञ्चालनका लागि आफू सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभएको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेपछि उहाँले स्पष्टीकरण नदिई राजीनामा दिनुभएको थियो । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्ले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालनिकट यादव शर्मालाई नियुक्त गरेको थियो ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएपश्चात् सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश दुईमा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।