काठमाडौं – साताको अन्तिम सेयर कारोबारको दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको छ । हिजो बुधबार ३१९९ दशमलव ०३ अङ्कको ऐतिहासिक उचाइमा बन्द भएको नेप्सेमा आज १८ दशमलव २४ अङ्कले गिरावट हुँदा ३१८० दशमलव ७८ अङ्कमा बन्द भएको हो ।

नेप्सेमा केही करेक्सन भए पनि कारोबार रकम भने २० अर्ब नाघेको छ । हिजो बुधबार २१ अर्बमाथिको कारोबार भएको बजारमा आज पनि करिब साढे २० अर्बको कारोबार भएको छ । आज नेप्सेमा ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर खरिद–बिक्री हुँदा २० अर्ब ४९ करोड ९२ लाख ११ हजारको कारोबार भएको छ । आज नेप्सेमा गिरावट भए पनि बिमा र अन्य उपसूचक भनेको बढेको छ । विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर र लगानी उपसूचकमा भने उच्च गिरावट भएको छ ।

लगानी उपसूचक ४ दशमलव ०३ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक ३ दशमलव १८ प्रतिशत, विकास बैंक उपसूचक २ दशमलव ५६ प्रतिशत र वित्त कम्पनी उपसूचक २ दशमलव ३० अङ्कले घटेको छ । यस्तै, बैंकिङ उपसूचक पनि ० दशमलव ९३ प्रतिशतले घटेको छ । यता, निर्जीवन बिमा उपसूचक ३ दशमलव १९ प्र्रतिशतले वृद्धि हुँदा जीवन बिमा उपसूचक २ दशमलव ५९ र अन्य उपसूचक २ दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ ।

आज हाइड्रोपावर उपसूचकमा गिरावट भए पनि कारोबार रकममा भने हाइड्रोपावर कम्पनी नै अगाडि रहेका छन् । अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको कारोबार रकम अर्ब नाघेको छ । अरुण काबेली पावरको १ अर्ब १६ करोड ७८ लाख ३२ हजारको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको पनि १ अर्ब १६ करोड ५२ लाख ४० हजारको कारोबार भएको छ । यस्तै, नेसनल हाइड्रोपावरको ८३ करोड ३२ लाख २० हजार, रिडी हाइड्रोपावरको ५७ करोड ९८ लाख ६१ हजार र जलविद्युत् लगानी तथा विकास कम्पनीको ४८ करोड ६९ लाख ७ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बन्द भएको छ । जसमध्ये जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट लेभलमा बन्द हुँदा जलविद्युत् लगानी तथा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावरको सेयर मूल्य घटेर सर्किट लेभलमा बन्द भएको हो ।

यस्तै, ङ्यादी पावर ग्रुपको सेयर मूल्य ८.७६ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ८.१८ प्रतिशतले घटेको छ । जलविद्युत् कम्पनीको नियमक निकाय विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीको सेयर मूल्यमा चलखेल भएको र अस्वाभाविक बढेको भन्दै विज्ञप्ति जारी गर्दा कमजोर पफर्मेन्स भएको हाइड्रोपावरको सेयर मूल्यमा उच्च गिरावट आएको हो ।

यता, जीवन विकास लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बन्द हुँदा रिडी हाइड्रोपावरको सेयर मूल्य ५ दशमलव ८९ प्रतिशत, साना किसान लघुवित्तको ७ दशमलव ५१ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ६ दशमलव ९५ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ६ दशमलव ३२ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका १८६ कम्पनीमध्ये ६१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२२ कम्पनीको घटेको छ । त्यस्तै, तीन कम्पनीको भने स्थिर रहेको छ ।