युएइ पुगेका अफगानी राष्ट्रपति घानी । अल जजिरा (फाइल फोटो)


युएई– अफगानिस्तानका राष्ट्रपति राष्ट्रपति अशरफ घानीले खाडी देश संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको छ । उहाँ युएईमा शरण लिन पुग्नु भएको हो । युएईको विदेश मन्त्रालयले मानवीय नाताले घानी र उहाँको परिवारलाई स्वागत गरिएको बताएको छ ।

अफगानिस्तानमा भएको सत्ता कायापलट पछि देश छोडेर आइतबार उज्वेकिस्तान पुग्नु भएका राष्ट्रपति घानी निर्वासित जीवन जीउनका लागि त्यहाँबाट युएई पलायन हुनुभएको हो । अफगानिस्तान यतिबेला पूर्णरुपमा तालिवानी लडाकुहरुले नियन्त्रणमा छ । देशमा रक्तपात जस्तो गम्भीर विपद आउन नदिनका लागि आफुले देश छोडेको हिंडेको राष्ट्रपतिको भनाइ छ । राष्ट्रपति घानीले ‘अहिले म युएईमा छु । रक्तपात र अव्यवस्था रोकियो । अफगानिस्तान फर्किनका लागि म अहिले वार्तामा छु’ भन्नुभएको छ ।

राष्ट्रपति घानीले देश छोडेको प्रति अफगानी राजनीतिज्ञहरुले तीव्र आलोचना सहित कडा टिप्पणी गरेका छन् । राष्ट्रपति घानीप्रति लक्षित गर्दै शान्ति वार्ता तथा राष्ट्रिय पुनर्स्थापना उच्च परिषद्का अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले ‘ईश्वरले उनलाई सजाय दिने छन् र राष्ट्रपति पनि मूल्याङ्कन गर्ने छ’ भन्नुभएको छ ।

यता अमेरिकाको पूर्ण समर्थन रहेका राष्ट्रपति घानीप्रति लक्षित गर्दै अमेरिकी राष्ट्रपति जो वाइडेनले पनि अफगान सरकारको आलोचना गर्दै सोमबारको सम्बोधनमा आवश्यक परेका बेला समस्याको सामना गर्नु पर्नेमा देश छोडेर भागेको भन्दै घानीसहितका नेताको आलोचना गर्नुभएको थियो । अमेरिकाकी उपविदेश मन्त्री वेन्डी शर्मनले पनि घाÞनी अफगानिस्तानको प्रतिनिधि नरहेको खरो टिप्पणी गर्नुभएको छ । तर अहिलेसम्म औपचारिक रुपमा सत्ता हस्तान्तरण नभएकाले घाÞनीलाई राष्ट्रपति नै भनिने विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

राष्ट्रपति घानीले फेसबुकमा लाइभ गरिएको भिडियो सन्देशमा आफूलाई सुरक्षा बलले राष्ट्रपति निवासबाट बाहिर जान सहयोग गरेको बताएका छन् । जुत्ता पनि लगाउन नभ्याएको घानीको दाबी छ । राष्ट्रपति घानीले ‘घटनाक्रम निकै तीव्र गतिमा विकसित भयो । म तालिवानसँग समावेशी सरकारका लागि वार्ता गर्न चाहन्थेँ । तर परिवेश त्यो बनेन’ भन्नुभएको छ ।