बीबीसी – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले भारतमा निर्मित कोभिसिल्ड खोपका नक्कली डोजहरु फेला पारिरहेको सम्बन्धी चेतावनी जारी गरेको छ । जुलाइ र अगस्टकाबीच भारत र अफ्रिकी निकायहरुले यसलाई पहिचान गरि जफत गरेको डब्लूएचओले जनाएको छ । कोभिसिल्ड निर्माता कम्पनी, सेरम इन्सटिच्युट अफ इन्डियाले सो खोप नक्कली भएको पक्का गरेको थियो । यस्तोमा डब्लूएचओले ‘फेक’ खोप विश्वव्यापी जनस्वास्थ्यका लागि गम्भीर खतरा भएको चेतावनी दिँदै तुरुन्तै यसलाई बिक्री वितरणबाट हटाउन पहल गरेको छ ।

भारत सरकारले यसबारे आधिकारिक धाराणा दिएको छैन तर स्थानीय रिपोर्टका अनुसार देशको स्वास्थ्य मन्त्रायले यो मुद्दामा अनुसन्धान गरिरहेको छ । एक स्वास्थ्य अधिकारीले मिन्ट न्युज वेबसाइटसँग भने अनुसार, “यस किसिमका घटना हुन नदिन हामीसँग बलियो सिस्टम छ । तर पनि यो खबरपछि हामी कुनै पनि नागरिकले नक्कली खोप प्राप्त नगरेको सुनिश्चित गर्न चाहन्छौँ ।” कोभिसिल्ड बेलायती खोप एस्ट्राजेनेकाको भारतीय स्वरुप हो र अहिलेसम्म भारतमा मात्र यसका ४८ करोड ६० लाख डोज प्रयोगमा ल्याइसकिएको छ ।

कम्पनी सेरमले डब्लूएचओको कोभ्याक्ससँग आबद्ध रहेर एसिया, अफ्रिका र दक्षिण अमेरिकामा समेत यसका लाखौँ डोज आपूर्ति गराएको छ । तर, भारतमा चलेको भयावह दोस्रो लहर पश्चात् सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएको हो । कम्पनी सेरमले पनि वर्षको अन्त्यसम्म भारतकै मागलाई प्राथमिकतामा राखेर खोप वितरण गरिने बताएको थियो । हालसम्म भारतमा १३ प्रतिशत जनसङ्ख्याले पूरा डोज खोप लगाएका छन् ।