काठमाडौं – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा नियुक्ति हुनुभएको छ । हिजो उहाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

उक्त धारामा ’प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ । मुख्यमन्त्री डोरमणि पौडेलले हिजो बुधबार राति राजीनामा दिएलगत्तै एमाले दलको तर्टबाट एकल बहुमतको सरकार गठनको दाबी सँगै पेस भएको थियो । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएको थियो ।

शाक्यले प्रदेश प्रमुख प्रसाईँसँग पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ । सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त पनि गर्नुभएको छ । उहाँले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गर्नुभएको छ । सामाजिक विकास मन्त्री नियुक्त हुनुभएका खनाल माधव नेपाल समुहका हुनुहुन्छ ।