बुटवल – लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुँदैछ । शंकर पोखरेल नेतृत्वको सरकारको बहिर्गमनपछि साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेपछि प्रदेश प्रमुखले नियमित अधिवेशन आह्वान गर्नुभएको हो ।
दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने वैठकमा मुख्यमन्त्री के.सी.ले सम्बोधन गर्ने कार्यसूचि छ । यस्तै उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूचि रहेको छ ।
यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश हुने कार्यसूचि छ । अधिवेशन शुरु भएपछि एक÷दुई दिनमै सरकारले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई विस्तार गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताउनुभयो ।