काबुल– अफगानिस्तानको बदलिंदो राजनीतिक घटनाक्रमसँगै देशको सुरक्षार्थ खटिएका अफगानी सेनाहरु भागेर उजेकिस्तान पलायन हुनपुगेका छन् । अफगानी राष्ट्रपति अशरफ धानीले देश छोडेसँगै त्यहाँको सरकारी सात सय ५० जना सेना पनि शरणलिन उजेकिस्तान पुगेको हो ।

बितेको ४८ घण्टाको अवधिमा ७ सय ५० जना अफगानी सरकारी सेना भागेर उजेकिस्तान पुगेको समाचार छ । विमानमार्फत् ६ सय जना अफगान सेना त्यहाँ पुगेको र उजेकिस्तान प्रशासनले जनाए अनुसार दक्षिणी शहर तेरमेजमा ४६ सैन्य विमान अवतरण गरेको बीबीसीले जनाएको छ ।

यसैक्रममा उजेकिस्तानले अफगानी सेना चढेको एक विमानलाई सीमा पार गर्न खोजेकाले खसालिदिएको समाचारमा जनाइएको छ । हवाई प्रतिरक्षा बलले सो सैन्य विमानलाई खसालिदिएको उजेकिस्तानको रक्षा मन्त्रालयले बताएको छ । तर सो विमानमा कति जना थिए र उनीहरुको अवस्था के छ भन्ने कुरा खुलाइएको छैन ।

यद्यपि समाचार संस्था एएफपीले सेनाको पोशाक लगाएका दुई जना अस्पतालमा भर्ना भएको एक चिकित्सकलाई उद्धृत गर्दै लेखेको छ । यी विमानलाई स्कर्टिङ गरेको एक अफगान विमान र उज्बेक लडाकु विमान आपसमा ठोक्किएको दाबी उजेकिस्तानको प्रोसिक्युटर जनरलको कार्यालयले जनाएको छ । दुबै विमानका पाइलट भने जोगिएका छन् ।