काबुल– सार्क सदस्य राष्ट्र अफगानिस्तानको सत्ता परिवर्तनले त्यहाँका नागरिकहरुमा एक खालको त्रास फैलिएको छ । तालिवान लडाकुले देशको ग्रामीण क्षेत्रहुँर्दै प्रान्तीय शहर र देशकै राजधानी काबुललाई नियन्त्रणमा लिएपछि त्यहाँका नागरिकहरु भय र त्रासले देश होडेर बाहिर जान खोजिरहेका छन् । बीस वर्षअघिको तालिवानी शासनबाट त्रसित भएका अफगानी जनताले अब देशमा आफ्नो सुरक्षा नभएको भन्दै देशबाहिर जान चाहेको देखिन्छ ।

हिजो काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा देश छोड्न चाहने अफगानीहरुको ठूलो भिड देखियो । उनीहरु तालिवानी विद्रोहीबाट आफुलाई असुरक्षा महशुस गरेको एउटा घटना नै काफी देखियो । काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा गुडिरहेको अमेरिकी सेनाको विमानलाई पछ्याउँदै अघिपछि व्याकुल हुँदै दौडिरहेका थिए । विमानस्थल बन्द गरेर सैनिकहरुले आफ्ना विमान उडाउने प्रयास गरेका थिए । तर स्थानीय बासिन्दा धावनमार्गमै पुगे । विमानको चारैतिर मानिसहरु चढेका थिए । त्यसक्रममा पाँचजनाको ज्यान गएको पुष्टि भएको छ । अमेरिकी सैनिकले विमानस्थलमा आएका दुई हतियारधारी व्यक्तिलाई गोली प्रहार गरेको दाबी गरेको छ । यस्तै अरु तीन जना उडान लगत्तै विमानबाट खसेको हृदयविदारक दृश्य देख्न सकिन्थ्यो ।

उनीहरु तालिवानीबाट जीवन रक्षा नहुने निश्कर्षमा पुगेर आफ्नो जीवन रक्षाका लागि देश छोड्न चाहेको एउटा काणुनिक दृश्य उक्त विमानस्थलमा देख्न सकिन्थ्यो । अमेरिकी सैन्य विमानमा चड्न तछाड मछाड गरिरहेका दृश्यहरु समाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा भाइरल बन्यो । विमानस्थलमा गुडिरहेको विमानका पङ्खा र झ्यालमा समाएर बस्नेहरुको दृश्यले त्यहाँका जनता कति भयभित छन् भन्नेकुरालाई प्रतिविम्बित गर्दछ । भलै तालिवानीहरुले कुनैपनि नागरिकलाई केही नगर्ने बताइरहेको भएता पनि काबुलको त्यो दृश्यले आफ्नै देश अफगानिस्तानमा उनीहरुले असुरक्षा महशुस गरेको प्रमाण हो ।

अहिले भने अमेरिकी सैन्य विमानहरुको उडान अवतरण नियमित रहेको जनाइएको छ । एउटा विमानले अमेरिकी मरिन लगेको छ । मरिनहरुले उद्धारकार्यमा सहयोग गर्न पुगेका हुन् । अमेरिका तथा उसका अरु सहयोगी देशहरुले आफ्ना कूटनीतिक कर्मचारी तथा नागरिकहरु तीव्र गतिमा काबुलबाट फिर्ता लगिरहेका छन् । सोमबार जर्मनीको जहाज पनि काबुल पुगेको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिका र नेटो सेनाको समर्थन रहेको अफगानिस्तानको सरकार सत्ताच्यूत भएको छ । अफगानिस्ताका राष्ट्रपति असरफ धानीले आइतबार नै देश छोडेर उजेकिस्तानमा शरणलिन पुगेका छन् । तालिवानीहरुले अफगानिस्तालाई आफ्नोे कब्जामा लिएपनि अहिलेसम्म नयाँ सरकार बनाएको छैन । दुई दशकदेखि अमेरिका नेतृत्वको सैन्य अभियान र अमेरिकी समर्थनको सरकारलाई सत्ताच्यूत गर्दै अफगानिस्तानमा तालिवानको शासन फेरि चल्ने भएको छ । मुस्लिम अतिवादी मानिने तालिवानले विश्व जनमतलाई कसरी साथ लिएर अगाडि बढ्छ र अन्तर्राष्ट्रिय समुदायले तालिवानलाई कसरी हेर्छ, त्यो भने निकट भविष्यले बताउने छ ।