काठमाडौं— सरकारले प्रदेश नं.२ का प्रमुख राजेश झा ‘अहिराज’ लाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख झालाई हटाउने निर्णय गरेको हो । उक्तकुराको जानकारी गृहमन्त्री बालकृष्ण खाँणले दिनुभएको हो ।


एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा माओवादी केन्द्रका तिलक परियारलाई बर्खास्त गरी झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । एमाले अध्यक्ष ओली नेतृत्वको सरकार सत्ताच्यूत भएसँगै प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकारले यसअघि गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो ।


आज बसेको मन्त्रिपरिषद्को बैठकले झाको ठाउँमा हरिशङ्कर मिश्रलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरिनुभएका मिश्र नेपाली काङ्ग्रेस महोत्तरीका पुरानो नेता हुनुहुन्छ । काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य मिश्र महोत्तरबाट २०४८ सालमा सांसदमा निर्वाचित हुनु भएको थियो ।