सिड्नी – अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा कोरोना महामारीले एकै दिन ७ जनाको मृत्यु भएको छ । कोरोना महामारीले सिड्नीमा एकै दिन यसअघि यतिधेरैको ज्यान गएको थिएन । कोरोना सङ्क्रमित र मृतकको संख्या बढेसँगै अर्को शहर मेलबर्नमा लकडाउन दुई साता लम्ब्याउने तयारी भएको छ । इरानमा दैनिक ६ सयभन्दा बढीको मृत्यु हुन थालेको द गार्जियनले जनाएको छ । इरानमा कोरोनाले एकै दिन यतिधेरैको ज्यान गएको पहिलोपटक भएको बताइएको छ ।

जापानले राजधानी टोकियोसहित अन्य शहरहरुमा ‘स्टेट अफ इमर्जेन्सी’ बढाउने तायरी गरेको छ । टोकियोमा दैनिक सङ्क्रमितको संख्या बढिरहेको छ । अमेरिकाको टेक्सास फेरी महामारीको जोखिममा पर्न थालेको द गार्जियनले जनाएको छ । विज्ञहरुले अमेरिकामा दैनिक २ लाख बढी सङ्क्रमित थपिन सक्ने चेतावनी दिएका छन् । इङ्ल्यान्डले अगष्ट २३ तारिखसम्म १६ र १७ वर्ष उमेरका सम्पूर्ण किशोरकिशोरीलाई खोपको पहिलो डोज दिइसक्ने तयारी गरेको छ ।

खोप वितरणमा भइरहेको असमानताले अफ्रिका र कम आय भएका अन्य मुलुकहरुमा नागरिकहरुको ज्यान जोखिममा परिरहेको ब्राउनको भनाइ छ । बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले अफ्रिका र कम आय भएका अन्य देशमा खोप वितरणको मात्रा बढाउन आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्र संघको साधारण सभाअघि आपतकालिन बैठक बस्न अमेरिका, बेलायत र इटालीलाई आग्रह गरेका छन् ।