तस्बिर: एपी, रोयटर्स

काबुल— तालिवान लडाकुहरुले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको पछि कसैसँग कुनै प्रतिशोधको भावनाले बदला नलिने जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीसँगको सम्बादमा तालिवानी नेता एवं प्रवक्ता सुहैल शाहीनले अफगानिस्तान र खासगरी काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् । प्रवक्ता शाहीनले आफूहरु अफगानिस्तानी नागरिकको सेवक भएको भन्दै ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका मानिसहरुलाई यो विश्वास दिलाउन चाहन्छौं कि उनीहरुको ज्यान र सम्पत्ति सुरक्षित रहन्छ । कसैसँग पनि बदला लिने छैनौं । काबुलबाहिर शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन भयो, हामी शान्तिसँग सत्ता चाहन्छौं’ उनले भनेका छन् ।


तालिवान विगतको भन्दा निकै नरम रुपमा प्रस्तुत हुँदै आएको छ । कट्टर मुस्लिम अतिवादी मानिएको तालिवानले आफुलाई शान्तिवादीको रुपमा चित्रण गरेको प्रवक्ता शाहीनको भनाइले सङ्केत गरेको छ । उनले तालिवानी सरकारले अफगानिस्तानका नागरिकको प्रतिनिधित्व रहने बताएका छन् । तालिवानको सरकारमा सामेल हुन तालिवान नै हुनु पर्छभन्नै छैन । तालिवानले शान्ति सुरक्षा कायम गर्न राजधानी शहर काबुलमा आफ्ना लडाकु परिचालन भएको जनाएको छ । काबुलका कतिपय इलाकामा चोरी र लुटपाट भएको सूचना आएको भन्दै तालिवानले उसका लडाकु अराजक तत्वलाई रोक्न शहरमा परिचालन भएको बताएको छ । रक्तपात विहिन रुपमा काबुललाई नियन्त्रणमा लिन सफल तालिवानले कुनैपनि नागरिकको घरमा नजान र दुख नदिन आफ्ना लडाकुलाई निर्देशन दिएको छ ।

अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि तालिवानले आफुहरु पूर्ण शक्तिसहितको सत्ता चाहेको र देशमा शान्ति चाहेको बताएको छ । सायद उसले यही कारणले पनि देशको राजधानी काबुललाई नियन्त्रणमा लिन कुनै हिंसा गरेन । काबुललाई शातिपूर्ण रुपमै सहज तरिकाले आफ्नो नियन्त्रणमा लिन सफल भयो । तालिवान लडाकुले यतिखेर अपगानी राष्ट्रपति कार्यालयलाई आफ्नो नियन्त्रणमा राखेको छ । उनीहरुले युद्ध सकिएको दाबी गरेका छन् । तालिवानी नेता एवं प्रवक्ता सुहैल शाहीनले तीन साता अघिमात्रै अफगानिस्तानमा शान्ति चाहने होभने राष्ट्रपति असरफ घानीले पदबाट तत्काल राजीनामा दिनुपर्ने बताएका थिए ।

यता अमेरिका लगायत कुनैपछि शक्ति राष्ट्रहरुले यतिबेला अफगानिस्तानको बदलिंदो राजनीतिक घटनाक्रमका बारेमा खासै नकारात्मक टिप्पणी गरेका छैनन् । आगामी सेप्टेम्बर अन्त्यसम्ममा अफगानिस्तानमा रहेको सबै विदेशी सेना फिर्ता हुने भएपछि त्यहाँको राजनीतिक घटनाक्रमले नयाँ बाटो लिएको हो ।

राजधानी काबुलमा एअर ट्राफिक कन्ट्रोल अमेरिकी नियन्त्रणमा


यसैबीच अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा एअर ट्राफिक कन्ट्रोले आफ्नो नियन्त्रणमा लिने जनाएको छ । अमेरिका आफ्नो दूतावासका कर्मचारी तथा सहयोगीहरुको तत्काल उद्धारको लागि काबुलको एअर ट्राफिक कन्ट्रोल आफ्नो नियन्त्रणमा लिने भएको हो । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिकी तथा सहयोगीहरुको जति सक्दो चाँडो उद्धारका लागि गरिएका निर्णयहरु मध्ये एक काबुलमा एअर ट्राफिक कन्ट्रोलको नियन्त्रण लिने रहेको उल्लेख छ ।

अफगानिस्तानको राजधानी काबुललाई तालिान लडाकुहरुले कब्जामा लिएपछि त्यहाँबाट बाहिर जान चाहेका सर्वसाधारण र अफगान अधिकारीसहितको भिड काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भिड लागेको छ ।अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा विशेष भिसाका लागि योग्य भएका अफगान (अमेरिकी सैन्य अभियानको क्रममा सहयोग गरेकाहरु) नागरिकको उद्धारलाई प्राथमिकता दिइने उल्लेख छ । विशेष भिसामा गएको दुई हप्तामा झण्डै दुई हजार मानिस अमेरिका पुगेको पनि उल्लेख छ ।

अमेरिकाले विमानस्थल सुरक्षाका लागि नेटोको साथमा आफ्ना थप सैनिक पठाएको छ । अहिले झण्डै ६ हजार अमेरिकी सैनिकले विमानस्थलको सुरक्षा गरिरहेका छन् र उनीहरुले नै एअर ट्राफिक कन्ट्रोल नियन्त्रणमा लिने विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ । अफगानिस्तान तालिवानको कब्जामा आए पनि सैनिक फिर्ताको प्रक्रिया पूर्व निर्धारित कार्यतालिका अनुसार नै हुने एक उच्च अमेरिकी अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।