काठमाडौं – महानगरपालिकाले सम्पूर्ण उपत्यकावासीहरुलाई घरबाहिर फोहोर ननिकाल्न अनुरोध गरेको छ । महानगरपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण ल्याण्डफिल्ड साइटको सडक अवरुद्ध हुन पुगेकोले फोहोर विसर्जन गर्न नसकिएको भन्दै केही समयका लागि आ–आफ्नो घरबाट फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं भनी महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन नगरपालिका घरदैलोमा आउनेछ । नगरपालिकाले फोहोर नउठाएपछि काठमाडौंका सडकका छेउ–कुनामा फोहोर थुप्रिन सुरु भएको छ । अझै कति दिनपछि फोहोर उठ्छ भन्ने निश्चित छैन ।

काठमाडौं उपत्यकाको फोहोरमैलाको नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइटमा अन्तिम विसर्जन गरिन्छ । तर अहिले ल्याण्डफिल्ड साइट जाने सडक अवरुद्ध भएको छ । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने अर्को विकल्प नभएकोले सिस्डलमा समस्या हुँदा काठमाडौं बेलाबेलामा दुर्गन्धित बन्ने गरेको छ ।