सिन्धुपाल्चोक – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कोरोना भाइरसको सङ्क्रमणका कारण वैशाख २३ गते देखि स्थगित गरेको आईपीओमा साउन ५ गतेदेखि पुनः आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

निषेधाज्ञाका कारण आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आईपीओ भर्न जान असहज हुने भएकाले कम्पनीले आईपीओ स्थगित गरिएको थियो कम्पनीले वैशाख २१ गते, मङ्गलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको । कम्पनीको आईपिओमा छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गते सम्मा आवेदन दिनुपर्ने थियो ।

लगानीकर्ताहरुले यो आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एसिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अङ्कित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियो । केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ ।

कम्पनीको आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतममा ४ सय कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ । कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ ।