नासो – असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले जिल्लामा धेरै भौतिक क्षति भएको छ । यहाँका अधिकांश बस्ती विस्थापित भएका छन् । बाढीपहिरोका कारण प्रहरीचौकी नै पूर्णरूपमा विस्थापित भएको छ । बाढीपहिरोले नासों गाउँपालिका–३ स्थित सीमा प्रहरी चौकी धारापानीको भवन बगाएपछि पूर्णरूपमा सो चौकी विस्थापित भएको छ ।

बाढीपहिरोले चौकी बगाएपछि अहिले विद्यालयमा प्रहरीचौकी राखिएको सीमा प्रहरी चौकी धारापानीका इन्चार्ज प्रहरी निरीक्षक कमल मजाकोटीले जानकारी दिनुभयो । जिल्लाका भौतिक संरचना बगाए पनि चौकीमा रहेका हतियार र गोलीगठ्ठा जोगाउन सकिएको उहाँले बताउनुभयो । साथै, भवनमा रहेका अन्न, खाद्यान्नलगायत सामग्री भने जोगाउन नसकिएको उहाँ बताउनुहुन्छ ।

अहिले धारापानी प्राथमिक विद्यालयको भवनबाट सेवा प्रवाह भइरहेको उहाँले जानकारी दिनुभएको छ । मर्स्याङ्दी नदीको बाढीले यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका भौतिक संरचनामा धेरै क्षति पु¥याएको छ । केही कार्यालय भौतिक संरचनामा क्षति पुगेपछि विस्थापित भएका थिए । लमजुङ बेंसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध हुँदा मर्मतका आवश्यक सामग्री ल्याउन नसक्दा भौतिक संरचना निर्माणमा ढिलाइ हुने भएको छ । रासस