अल जजिरा फाइल फोटो

काबुल– भूपरिवेष्टित देश अफगानिस्तानमा सत्ता परिवर्तन हुने देखिएको छ । अतिवादी कट्टर मुस्लिम तालिवानी विद्रोहीले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि सत्ता परिवर्तन हुन लागेको हो ।

दुई दशक पछि अफगानिस्तानमा पुनः तालिवानले सत्ता चलाउने सङ्घारमा पुगेको छ । अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको नेटो सैनिक दस्ता त्यहाँबाट हट्न सुरुभएसँगै अफगानिस्तानका राष्ट्रपति असरफ घानीको राज्यसत्ताको किल्ला फत्किन पुगेको हो । तालिवान विद्रोहीहरुले ग्रामीण क्षेत्रहुँदै द्रुतगतिमा देशको मुख्य शहरहरु कब्जा गर्दै राजधानी काबुललाई रक्तपात बिहिन रुपमा कब्जामा लिन पुगेका छन् ।


देशको राजधानी काबुलमा तालिवानी विद्रोहीको प्रवेश भएसँग अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । राष्ट्रपति घानी आफ्नो कोर टिमसहित भागेर ताजिकिस्तान पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । घानीले आइतबार साँझ देश छोडेका थिए । राष्ट्रपति घानी काजिकिस्तानका लागि उडेको समाचार संस्था रोयटर्सले जनाएको छ ।


अमेरिकाको समर्थनमा सत्तामा रहेका राष्ट्रपति घानीले यस अघि शान्तिपूर्ण रुपमा आफुले तालिवानीलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए । तालिवान लडाकुले राजधानी काबुललाई समेत आफ्नो नियन्त्रणमा लिने अवस्था देखेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार भएका थिए । त्यसोत, तालिवानसँग सत्ता साझेदारको लागि पनि आह्वान गरेका थिए ।


अफगानिस्तानका राष्ट्रपति असरफ घानी अमेरिकी नेतृत्वको नेटोका उच्च सैन्य अधिकारीहरुसँगको परामर्शबाट देश छोडेर विदेश पलायन भएका छन् । राष्ट्रपति घानीलाई सत्ताच्यूत गरेको तालिवानी विद्रोहीले आफ्नो नेतृत्वको नयाँ सत्ता घोषणा गर्दै अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तयारीमा रहेकोे अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । समाचार संस्था गार्डेनले तालिवानी स्रोतलाई उल्लेख गर्दै छिट्टै ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्न लागेको जनाएको छ । समाचारमा तालिवानले राष्ट्रपती निवास बाटै त्यसको घोषणा गर्ने तयारी गरेको उल्लेख छ ।