काठमाडौं – साताको पहिलो दिन आज सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम २१ अर्ब नाघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । आज आइतबार एकैदिन २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रूपैयाँको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस अघि अघि १९ अर्ब ५५ करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको हो ।

चालु आर्थिक वर्षका लागि गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो । उक्त मौद्रिक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम १२ करोड तोकिदिएको छ भने सेयर मूल्याङ्कनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबार आइतबार नेप्से परिसूचक भने घटेको छ ।

कारोबार खुलेको केही मिनेटसम्म नेप्से परिसूचक बढेको थियो । पछि पुनः घट्न सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदा पनि घटेरै बन्द भएको छ । आज माइक्रोफाइनान्स र उत्पादनमूलक कम्पनीहरु रहेको समूहगत सबइन्डेक्स बढेर हरियो देखिएको छ भने बाँकी सबै घटेका छन् । नेप्से परिसूच घटेता पनि कारोबार रकममा भने उत्साह देखिएको छ ।