हेटौंडा – बागमती प्रदेशसभाका सदस्यसहित पदाधिकारीका आवास सुविधा बापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक करोड ९० लाख चार हजार ७ सय ४९ खर्च भएको हो ।

सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख बाहेक विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतक, प्रदेशसभा सदस्यलाई घरभाडा बापत रकम भुक्तानी दिइएको हो । प्रदेशको राजधानीमा घर नभएका सांसदको हकमा भने प्रतिमहिना रू १५ हजार घर भाडा बापत उपलब्ध गराउँदै आइएको छ । राजधानी हेटौंडामै घर भएका प्रदेशसभा सदस्यले समेत आवास मर्मत शीर्षकमा प्रत्येक महिना रू सात हजार ५ सय बुझ्दै आएका छन् । मुख्यमन्त्री तथा मन्त्रीले प्रदेश सरकारबाटै आवास सुविधा पाउँछन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको सेवा तथा सुविधालाई व्यवस्थित गर्न २०७५ सालमा ऐन निर्माण भइसकेको र सोहीअनुसार सदस्यलाई सेवा तथा सुविधा उपलब्ध गराइएको सचिवालयले जनाएको हो । प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार सभामुख र उपसभामुखका लागि प्रदेश सरकारले आवासको व्यवस्था गर्ने र आवासीय भवन मर्मत र सम्भार पनि सरकारले नै गर्ने व्यवस्था छ ।

अन्य सदस्यको हकमा अनुसूची–१ मा उल्लेख गरिए अनुसारको व्यवस्था हुने भनिएको छ । जसमा सभामुख र उपसभामुखबाहेक सदस्यको हकमा विपक्षी दलका नेता, सत्तापक्षका मुख्य सचेतक, समितिका सभापति र विपक्ष दलको प्रमुख सचेतकलाई रू २५ हजारका दरले तथा सत्तापक्षको सचेतक, विपक्षी दलको सचेतक र सदस्यलाई रू १५ हजारका दरले आवास तथा घर भाडा बापतको सुविधाको व्यवस्था गरिएको छ ।– रासस