काबुल– अफगानिस्तानमा विद्रोही तालिवानले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्ने क्रममा रणनीतिक रुपमा महत्वपूर्ण मानिएको जलालावाद पनि आज बिहान आफ्नो नियन्त्रणमा लिएको छ । जलालावाद शहरलाई विना युद्ध आफ्नो नियन्त्रणमा लिन सफल भएको बताइएको छ । तालिवानी विद्रोहीले देशको राजधानी काबुललाई चारैतिरबाट घेरा हाल्दै प्रवेश गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । देशका प्रमुख शहरहरुमा तालिवान विद्रोहीले एक पछि अर्को गर्दै आफ्नो नियन्त्रणमा लिंदै आएका छन् ।

पछिल्लो दश दिनको बिचमा विद्रोही तालिवानीले सरकारी सेनामाथि विजयप्राप्त गर्दै देशका सबै मुख्य प्रान्तीय राजधानीहरुलाई आफ्नो नियन्त्रणमा लिंदै आएका छन् । अफगानिस्तानको सरकारी सेना विद्रोही तालिवानहरुको सामु निरिह बन्दै आएको छ । विगत दुई दशकदेखि अमेरिकासहितको नेटोमा आवद्ध विदेशी सैनिकहरुले तालिवान लडाकुहरुलाई लक्षित गर्दै सैन्य अभियान सञ्चालन गर्दै आएको थियो । आगामी सेम्टेम्बरसम्ममा अफगानिस्तानबाट विदेशी सेना हट्ने निश्चित भएपछि तालिवानी लडाकुहरुले आफ्नो फौजिकारवाहीलाई बढाउँदै आएका छन् । यसै अनुरुप उनीहरुले देशका मुख्य प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको हो । तालिबान लडाकुले उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका थिए ।

तालिवानी विद्रोहीहरुले एकपछि अर्को गर्दै मुख्य शहर कब्जामा लिन सक्नुको मुख्य कारण सरकारी सेना कमजोर र जनताको समर्थन रहेको उसको भनाइ छ । अफगानिस्तानमा रहेका विभिन्न देशका नागरिक र कर्मचारीहरुलाई फिर्ता लैजान थालिएको छ । काबुललाई कब्जा गर्ने सन्दर्भमा तालिवानी नेताहरुले आफ्ना लडाकुहरुलाई राजधानी काबुलमा सकेसम्म युद्ध नगर्न आदेश दिएको छ । सुरक्षित रुपमा निस्कन चाहनेहरुलाई जान दिन तालिवानले आफ्ना लडाकुलाई भनेको अन्तर्राष्टिय समाचार संस्था रोयटर्सले जनाएको छ । दोहामा रहेका तालिबान नेताले रोयटर्सलाई यस्तो जानकारी दिएका हुन् । तालिबान नेताले महिलाहरुलाई सुरक्षित स्थानमा जान पनि भनेका छन् ।

जलालावाद अफगानिस्तानका र विशेष गरि राजधानी काबुलका लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण शहर हो। पाकिस्तानको पेशावर शहरसँग जोड्ने रणनीतिक राजमार्ग जलालावाद हुँदै जान्छ । गत हप्ता मात्रै अमेरिकी गुप्तचर निकायले कम्तिमा ३० दिन भित्र देशको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने बताएको थियो । तर त्योभन्दा निकै चाँडो तालिवानले आफ्नो पकड क्षेत्र बिस्तार गरेको हो । भूपरिवेष्ठित अफगानिस्तानका लागि सो राजमार्ग अति महत्वपूर्ण छ । जलालावादका गभर्नरले आत्मसमर्पण गरेकाले बिना युद्ध शहर तालिबानको कब्जामा गएको स्थानीय अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् । मानवीय क्षति नहोस् भन्नका लागि आत्मसमर्पण गरिएको बताइएको छ । अमेरिका नेतृत्वको नेटो सैनिकले सन् २००१ देखिको सैन्य अभियान अफगानिस्तानमा समाप्त गर्दै छन् । अमेरिकी सैनिक यहि अगस्ट अन्तिमसम्ममा तथा अरु विदेश सैनिकहरु सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने छन्।