तस्बिर ः एफपि
काबुल– देशको उत्तरी क्षेत्रमा रहेको मुख्य शहर मजार–ए–शरीफलाई तालिवान लडाकुहरुले आफ्नो कब्जामा लिन सफल भएका छन् । अफगानी सरकार गत दश दिनदेखि देशको मुख्य शहरहरुमा आफ्नो पकड गुमाउँदै गएको छ । तालिवानी लडाकुहरुले पुनः २० वर्षपछि केन्द्रीय सत्ता आफ्नो हातमा लिने बलियो आधार बन्दै गएको छ । अफगानिस्तानको मजार–ए–शरीफ शहरलाई विशेष रुपमा तालिवान विरोधी शहरका रुपमा लिने गरिन्छ । सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता मानिएको छ ।

अमेरिकी नेतृत्वको नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेशन) सैनिक फिर्ता हुने क्रम बढेपछि त्यहाँ तालिवानी लडाकुहरुले युद्धलाई चर्काउँदै लगेका छन् । जसअनुरुप उनीहरुले ग्रामीण क्षेत्रलाई पूर्णरुपमा आफ्नो कब्जामा लिएपछि शहर केन्द्रीत आक्रमणलाई तिव्रता दिदैं आउँदा झण्डै दुई हप्ताको बीचमा तालिवानले देशका दुई तिहाइ मुख्य प्रान्तीय शहरहरुलाई आफ्नो नियन्त्रणमा लिन सफल हुँदै आएका छन् । तालिवानी लडाकुहरुले देशको सत्ता आफ्नो कब्जामा लिन सरकारी सुरक्षा दस्तामाथि भिषण आक्रमणगर्दै आएका छन् । तालिवानी लडाकुहरुको सामु अफगानी सैन्यदस्ताले पराजय भोग्दै आएको छ ।

मुस्लिम कट्टरपन्थी तालिवानी विद्रोहीले अहिले देशका अधिकांश क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन सफल हुँदै आएका छन् । तालिवानी विद्रोहीहरु देशको राजधानी काबुललाई आफ्नो नियन्त्रणमा लिनेतर्फ अघि बढिरहेका छन् । त्यहाँ अहिले दोहोरो भिडन्त भैरहेको छ । बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफ अफगानिस्तानको चौथो ठूलो शहर हो । सो शहर अधिकांश रुपमा बिना युद्ध तालिबानले कब्जा गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । अफगान राष्ट्रपति अश्रफ घानीले केही दिनअघि मात्रै मजार–ए–शरीफ शहरको भ्रमण गरेर सरकारी सुरक्षा बलको मनोबल बढाउने प्रयार गरेका थिए । उज्वेकिस्तान र ताजिकिस्तानको सीमा नजिक रहेको मजार–ए–शरीफ प्रमुख आर्थिक केन्द्र हो । तालिवानले यो भन्दा पहिले सन् १९९० को दशकमा सो शहरमा नियन्त्रण कायम गरेको थियो । सन् १९९० तिर अफगानिस्तानमा तालिवानको शासन थियो ।

तालिबान बिद्रोहीले पछिल्लो हिंसाका कारण साढे दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । विस्थापित भएकाहरुमध्ये धेरै राजधानी काबुल तर्फ गएका छन् । तालिबानको नियन्त्रणमा गएको क्षेत्रका महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारिएको छ । तालिबान लडाकुले आफ्ना नियमहरु नमान्नेहरुलाई कुटपिट गरेको पनि खबर छ । हिंसाका कारण लाखौँ मानिस विस्थापित भएका छन् र उनीहरु खुला आकाश मुनि बस्न बाध्य भएका छन् ।

अफगानिस्तानी सेनाले पहिलो आत्मसमर्पण गरेको र त्यसपछि मात्रै सरकार पक्षधर सुरक्षा बल तथा सैन्य समूहले हात उठाएको बाल्कबाट प्रतिनिधित्व गर्ने सांसद अबास इब्राहिमजादाले एसोसिएटेड प्रेसलाई बताएका छन् । तालिवानी लडाकुका सामु अफगानी सुरक्षा फौज यतिबेला निरिह देखिएको छ । तालिवानी लडाकुहरुले एक पछि अर्को गर्दै देशका शहर र प्रान्तीय राजधानीमाथि कब्जा जमाउँदै जाँदा अब अफगानिस्तानका राष्ट्रपछि असरफ धानी नेतृत्वको सरकारले तालिवानीहरुसँग आत्मसमर्पण गर्नुपर्ने अवस्था आएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले समेत इङ्कित गरेका छन् । त्यसो त अमेरिकी गुप्तचरी संस्थाले समेत करिब एक महिना मै तालिवानी लडाकुहरुले अफगानिस्तानको राजधानीलाई आफ्नो नियन्त्रणमा लिने बताएको छ । अफगानी राष्ट्रपति असरफ धानीको नेतृत्वमा रहेको सरकार अब अपदस्थ हुने अवस्थामा पुगेको अमेरिकी गुप्तचर संस्थाले बताइसकेको छ ।

अफगानिस्तानमा रहेको अमेरिकी नेतृत्वको नेटो सैनिकले सन् २००१ देखिको सैन्य अभियान समाप्त हुँदैछ । अमेरिकी सैनिक यहि अगस्ट अन्तिमसम्ममा तथा अरु विदेश सैनिकहरु सेप्टेम्बर ११ सम्ममा फिर्ता हुनेछन् । विदेशी सैनिक फिर्ता हुन थालेसँगै तालिबानको प्रभाव बढेको हो । दुई दशकदेखि अफगानिस्तानमा रहेको अमेरिकी नेतृत्वको सेनाले त्यहाँको सरकारी सेनासँग सहकार्य गर्दै आएता पनि अफगानी सेनाको अवस्था दयनीय रहेको पछिल्लो घटनाक्रमले उजागर गरेको छ । अफगानी सरकारको तीन लाखभन्दा बढी सेना रहेको छ । तर तालिवानी लडाकुहरुको सङ्ख्याभने ६० हजार मात्रै रहेको भनिएको छ । यद्यपि, तालिवानी लडाकुको बढ्दो प्रभावलाई लिएर विश्व शक्ति राष्ट्र अमेरिका र बेलायतको लागि पनि थप चुनौती बनेको छ ।